१६ वर्षीया कुमारी आमाको गर्भपतनपछि निधन, गर्भवती बनाउने व्यक्तिको खोजी

१६ वर्षीया कुमारी आमाको गर्भपतनपछि निधन, गर्भवती बनाउने व्यक्तिको खोजी

सर्लाहीको बसबरिया गाउँपालिका २, मानपुरकी किरणकुमारी सहनीको गर्भपतनपछि मृत्यु भएको छ । केही दिनअघि गर्भपतन गराएकी १६ वर्षीया सहनीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

महेन्द्र सहनीकी अविवाहित छोरी किरणले गाउँकै क्लिनिकमा गर्भपतन सम्बन्धी औषधि खाएकी थिइन् । छ महिने गर्भवतीको उक्त औषधि सेवनपछि अत्यधिक रक्तस्राव भएको बताइन्छ । 

अवस्था जटिल भएपछि जेठ २१ गते प्रादेशिक अस्पताल, मलङ्वा लगिएको थियो । तर, स्वास्थ्य अवस्था थप खराब भएपछि अस्पतालले प्रादेशिक अस्पताल, जनकपुर रिफर गरेको हो । 

जेठ २३ गते शल्यक्रिया गरेर उनको गर्भबाट मृत शिशु निकालियो । त्यसपछि आइसियूमा भर्ना गरिएकी उनको हिजो दिउँसो उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

इलाका प्रहरी कार्यालय, बरहथवाका प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले यसविषयमा अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार किरणकुमारीलाई गर्भपतन गर्न औषधि दिनेलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । 

‘केही दिनअघि ती किशोरीले गर्भपतन गर्ने औषधी खाएकी रहिछन् । त्यसपछि अति नै रक्तस्राव भएपछि आमाले उपचार गर्न मलङ्वाको अस्पताल लगेको देखियो ।  त्यहाँबाट जनकपुरमा पठाइदिएछ । मृत शिशु शल्यक्रिया गरेर निकालेपछि हिजो उपचारकै क्रममा उनको निधन भएको हो । यसबारे अनुसन्धान भइरहेको छ’, उनले भने । 

ती किशोरीलाई कसले र कसरी गर्भवती बनायो ? उक्त शिशु कसको हो ? भन्नेबारे प्रष्ट हुन नसकेको डिएसपी मिश्रको भनाइ छ ।

टिप्पणीहरू