बिग्रिएपछि यताउतिको बात

बिग्रिएपछि यताउतिको बात

चाहिएको बेला कसैलाई मतलब भएन, बिग्रिएपछि ‘यता मिलाउँदा हुन्छ कि उता मिलाउँदा’ भन्दै एमाले सल्बलायो । तर फेरि पनि रिस र तुष त कायमै छ । 

केन्द्रीय नेताहरू अहिले पनि विगतमा कार्यविभाजन नभएर भोट नआएको भन्ने भ्रममा छन् । तर काममा एकरूपता, नीति विचारमा स्पष्टता नभएको छर्लङ्ग छ । फेरि पनि त्यस्तो एकरूपता आउने गरी एमालेले कार्यविभाजन गरेन भनी नेताहरू नै टिप्पणी गर्न थालेका छन् । हक्की स्वभावका मानिने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रचार विभाग प्रमुख थिए । पार्टी अध्यक्ष केपी ओलीको आलोचना गरेकै कारण उनलाई सो विभागबाट बिदा गरियो । अग्नी खरेलसँग अध्यक्ष ओलीको चुनावदेखिकै तुष हो । अहिले उनी इञ्चार्ज रहेको झापामा खोटाङमा चुनाव हारेका विशाल भट्टराईलाई पठाइएको छ । 

एमाले नेतृत्वले मनन गरेको सत्यचाहिँ के हो भने, एउटै जिल्लामा त्यहीँका इञ्चार्ज र सहइञ्चार्ज बनाउँदा उनीहरूले संगठन सुदृढ नबनाई आपसी गुटबन्दी गरे । गुटको विकासले यति विकराल रूप लियो कि, कतिपय जिल्लामा संगठित सदस्य रहेजति मत पनि पार्टीले पाएन । उदाहरणका लागि नुवाकोट । बागमती प्रदेशमा स्थानीय इञ्चार्जले गुटबन्दीदेखि हप्ता असुल्नेसम्म काम गरे । रामेछापमा कैलाश ढुंगेल, नुवाकोटमा बिन्दा ढुंगानाहरूले यस्तो काम गरेको भनी पार्टी मुख्यालयमा उजुरी नै पर्‍यो । धादिङमा खेम लोहनी, भूमि त्रिपाठीहरूको मारामार चल्दा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले चुनाव जिते । 

अनि, नयाँ मान्छेलाई सिंगार्न खोज्दा एमालेले मार खाएको छ । जस्तो गोरखामा प्रचण्डलाई हराउन उठाइएका अब्दुस मियाँ एउटा उदाहरण हुन् । उनलाई ओलीले २५ लाख रूपैयाँ दिएर चुनाव लड्न पठाउनुभयो । त्यसअघि विवेकशील साझाका सिइओ थिए । एमालेमा ल्याउँदा चुनावपछि केन्द्रीय सदस्य बनाउँला भनिएको थियो । त्यसरी ओलीले दिएको २५ र आमाले दिएको १० लाख लिएर चुनावमा त गए, तर जति खर्च गरे पनि जित्ने स्थिति नदेखेपछि पैसा खासै खपत भएन । बचाएको पैसा नयाँ–नयाँ लुगा किन्नमा, सदुपयोग भइरहेको छ । 
 

टिप्पणीहरू