भारतले पूर्वी राज्यहरूलाई अमेरिकाको अलास्का बनाउला त ?
नयाँदिल्ली उड्नु केही घण्टाअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको नागरिकता विधेयक र लिपुलेकसँग बंगलादेश जोड्ने धर्को जमिन साट्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय अस्मितासँग जोडेर चर्को विरोध भइरहेको छ ।
तर के भारतले झण्डै २२ किमि लामो र केही मीटर चौडा उक्त जमिन नेपालको नक्सामा गाभ्न देला ? प्राविधिक र राजनीतिक रूपमा त्यो सम्भव होला ? पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने उक्त भूभागको पूर्वमा बंगलादेश र पश्चिममा नेपाल अवस्थित छ । नेपाल र बंगलादेशबीच सबैभन्दा साँघुरो ठाउँको दूरी जम्मा २२ किलोमीटर छ । यही साँघुरो ‘चिकेन नेक’ बाट नयाँ दिल्लीले उत्तरपूर्वका राज्यहरूमा आफ्नो प्रशासनिक र राजनीतिक कार्य सञ्चालन गर्दै आएको छ ।
जम्मु काश्मिरपछि सबैभन्दा रणनीतिक र महत्वपूर्ण भूभागको रूपमा रहेको उत्तरपूर्वी राज्यहरूमा प्रवेश गर्ने उक्त क्षेत्र विभाजन गरेर भारतले नेपाललाई दिन्छ भनेर सोच्नु दिवास्वप्नमात्र हो । सात दिदी बहिनी भनेर चिनिएका राज्यहरूमा मणिपुर, मिजोरम, असाम, अरूणाचल, मेघालय, नागाल्याण्ड र त्रिपुरा हुन् । नयाँ दिल्लीलाई सैन्यदेखि सबै प्रशासनिक र राजनीतिक गतिविधिमा जल, स्थल, हवाई र रेल सेवा नेपाल–बंगलादेशबीचको २२ किलोमीटर भूभागबाट गर्नुपर्ने बाध्यता छ ।
उक्त क्षेत्रमा नेपाललाई बंगलादेश जोड्ने धर्को सडक दिएको अवस्थामा पनि उत्तर र पूर्वी क्षेत्रका सात वटै राज्य अमेरिकाको अलास्का झैँ हुनेछ । त्यसका लागि आवतजावत गर्न बंगलादेश, नेपाल वा म्यानमारको भर पर्नुपर्ने हुन्छ । यो भारतीय आँखा र स्वार्थबाट हेर्दा अरूको निम्ति मृगमरिचिका मात्रै हुने निश्चित छ । अमेरिकाको उत्तरपश्चिम कुनामा रहेको अलास्का राज्यमा जान क्यानाडाको भूभाग प्रयोग गर्नुपर्ने हुन्छ । भलै उक्त राज्य अमेरिकाले डेढ शताब्दीअघि रुससँग किनेको थियो ।
रुसले अमेरिकालाई सन् १८६७ मार्च ३० का दिन ७२ लाख अमेरिकी डलरमा अलास्का बेचेको हो । अलास्का खरिद बिक्री सन्धिमा अमेरिकी विदेशमन्त्री विलियम सेवार्ड र अमेरिकी मामिलासम्बन्धी रुसीमन्त्री एडवार्ड डे स्टोवेकलले हस्ताक्षर गरेका थिए । क्राइमियन युद्धमा पराजित भएपछि रुसले उक्त भूभाग बिक्री गर्ने निर्णय गरेको हो ।
टिप्पणीहरू