अनलाइन ठगीको आरोपमा कलाकारद्वय 'बल्छी' र 'मास्टर' पक्राउ

अनलाइन ठगीको आरोपमा कलाकारद्वय 'बल्छी' र 'मास्टर' पक्राउ

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चर्चित कलाकारहरू पक्राउ परेका छन् । 

बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर उपनामका राजु पौडेललगायतका कलाकारलाई प्रहरीले आज पक्राउ गरेका हो । प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।  

 उनीहरूलाई काठमाडौंको स्वयम्भूलगायतका ठाउँबाट नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ परेका अन्य कलाकारका बारेमा भने प्रहरीले केही खुलाएको छैन ।

अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोगमा आएको ‘वान एक्स बेट’ मार्फत सट्टाबाजी गर्ने र क्रिप्टोकरेन्सीको कारोबार गर्ने पाँच जनालाई हिजो प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्दा अनलाइन जुवा खेलाउने कार्यमा संलग्नता देखिएपछि आज  बल्छी र मास्टरसहितका कलाकार समातिएका हुन् । 

प्रहरीका अनुसार यस घटनामा ७४ करोडभन्दा बढी कारोबार भएको देखिएको छ ।

श्रेष्ठ र पौडेल हाँस्य टेलिसिरियल 'हल्का रमाइलो' का निर्देशक तथा कलाकार हुन् । यस सिरियलमा ‘वान एक्स बेट’को अनलाइन जुवाको विज्ञापन प्रसारण हुँदै आएको छ ।

टिप्पणीहरू