काठमाडौं जिल्ला अदालतमा वकिलहरुको ओइरो

काठमाडौं जिल्ला अदालतमा वकिलहरुको ओइरो

काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतिवादीहरुको बहस भइरहेको छ । हिजो अस्तिझैँ आज पनि दर्जनौं वकिलको लर्को देखिएको छ । 

आज टेकनाथ रिजालको पक्षमा कानुन व्यवसायीहरुले जिल्ला अदालतमा थुनछेक बहस गरेका छन् । न्यायाधीश  प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त प्रकरणमा प्रतिवादी बनाइएका भुटानी शरणार्थी नेता रिजालको तर्फबाट बिहानदेखि दिउँसोसम्म १०  जना कानुन व्यवसायीले बहस गरेका छन् । 

रिजालको पक्षमा कानुन व्यवसायी तथा अधिवक्ताहरु राजकुमार सुवाल, सम्बेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, दुर्जेजंग थापा, प्रतिभा भट्टराई, अनिल झा र प्रकाश बस्नेतले बहस गरिसकेका छन् ।  

अधिवक्ता सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरे । उनले अपराधीलाई भेट्दैमा कोही पनि अपराधी हुन नसक्ने तर्क इजलाससमक्ष राखेका हुन् । शरणार्थीको कार्ड बनाउने जिम्मा रिजालको नभएको यो कार्य गृह मन्त्रालयको भएकाले त्यसमा रिजालको संलग्नताको सवाल नै नभएको उनीहरुको तर्क छ । 

अधिवक्ता डोरविक्रम थापाले रिजालविरुद्ध कसैले पनि किटानी जाहेरी नदिएको अवस्था र अधिवक्ता प्रकाश बस्नेतले रिजालले पैसा लिएको प्रमाण कहीँ पनि नदेखिएको जिकिर गरेका छन् । गत शुक्रबार प्रतिवादी टोपबहादुर रायमाझीका अधिवक्ताले रिजालको मानसिक स्वास्थ्यबारे प्रश्न उठाएका थिए । तर आज रिजालका कानुन व्यवसायीहरुले त्यसको प्रतिवाद गरेका छन् । 

आज रिजालका अतिरिक्त प्रतिवादीहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जनका कानुन व्यवसायीले पनि थुनछेक बहस गर्दैछन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएपछि सरकारी वकिलले जवाफ दिनेछन् ।

टिप्पणीहरू