सीमामा सामान तस्करी, जुत्तादेखि बिँडीसम्म सँधैभरि

सीमामा सामान तस्करी, जुत्तादेखि बिँडीसम्म सँधैभरि

सशस्त्र प्रहरी बल नेपालले चौरीपैठारी गरेर भारतबाट ल्याइएको लाखौं मूल्यका सामानसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । अवैध रुपमा सामान ओसारपसार गर्नेलाई सशस्त्र प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ । 

प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट चोरीपैठारीका सामानसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पाँच लाख चार हजार रुपैयाँ बराबरको सामान र अटोरिक्सासहित स्थानीय ३६ वर्षीय गुड्डि मुसलमान, ४८ वर्षीया सीता गुरुङ्ग र सप्तरी घर भई भैरहवा बस्ने २३ वर्षीय उमेश पासवान पक्राउ परेका छन् । 

लु.१ ह ५२१९ नम्बरको अटोरिक्सामा राखेर भारतबाट ल्याईंदै गरिएको ६८ जोर जुत्ता भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको छ । त्यसैगरी, भारतबाट भन्सार छलेर कपिलवस्तुको कपिलवस्तु नगरपालिका ३ स्थित सेमरहवा इलाकाबाट ल्याइएको एक लाख ९८ हजार १७० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी, मर्यादापुरले जनाएको छ । ती सामान सुठौली भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यस्तै, सर्लाहीको बसबरिया गाउँपालिका ५, पोखरियाबाट पाँच लाख ६ हजार रुपैयाँ बराबरको चौरीपैठारीको मोबाइल र बिँडीसहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको सुरक्षा बेस मनुष्माराले जानकारी दिएको छ । 

भारतबाट अवैध रुपमा मोटरसाइकलमा राखेर नेपाल ल्याउँदै गरिएका ३६ थान मोबाइल र चार बोरा बिँडी छाडेर दुई जना सशस्त्रको टोलीलाई देखेपछि फरार भएका थिए । नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवा पठाइएको छ ।

टिप्पणीहरू