भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बहस सकियो, जवाफी बहसपछि आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ । आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनको पक्षमा वकिलहरुले बहस गरेसँगै प्रतिवादीतर्फको सम्पूर्ण बहस सकिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा गत बुधबारदेखि बहस चलिरहेको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका ३२ मध्ये १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको हो । अब सरकारी वकिलले भोलि जवाफी बहस गर्नेछन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्ने तय भइसकेको छ । शुक्रबार दिउँसो २ बजेभित्र जवाफी बहस सक्न न्यायाधीश न्यौपानेले इजलासबाटै निर्देशन दिएकाले सोही दिन आदेश आउनसक्ने अनुमान गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले फरार फरेका १४ सहित ३२ प्रतिवादीविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध गरी चारवटा कसूरमा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
टिप्पणीहरू