आदेश सुनाउनुअघि यता पनि हेरियोस् श्रीमान !
गृह प्रशासन नै परिचालन गरेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहका ३२ जनामाथि अदालतमा मुद्दा चलिरहँदा इलाका प्रशासन कार्यालय दमकका नायब सुब्बा सुरेन्द्रराज दाहाल पनि यस काण्डमा जोडिएका छन् । राज्य संयन्त्रको दुरुपयोग गरी बिचौलियामार्फत खडा गरिएका ४२९ जना नेपालीलाई भुटानी शरणार्थीको सूचीमा सामेल गराउन आफ्नो पदको दुरुपयोग गरेको खुलेपछि यस प्रकरणमा उनको पनि संलग्नता देखिएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं कुम्ल्याउने गिरोहमा संलग्न रहेको आरोप लागेपछि भिआइपीदेखि बिचौलियासम्म भकाभक पक्राउ परिरहँदा आफूले फाइल सदर नगरेकै कारण तत्कालीन गृहमन्त्रीले ताप्लेजुङ्ग सरुवा गरिदिएको भन्दै मिडिया गुहारेका नायब सुब्बा दाहाल यस प्रकरणका 'मास्टरमाइन्ड' रहेको तथ्य सानु भण्डारीसँग उनले गरेको फोनवार्ताबाट खुलेको हो । जनआस्थाले फेला पारेको दाहाल र भण्डारीको ३२ मीनेट लामो फोन संवादमा 'एड भेरिफिकेसन' का क्रममा सक्कली शरणार्थीको सूचीमा नक्कली नाम कसरी थप्ने भन्ने सल्लाह गरेको सुनिन्छ ।
सो अडियो रेकर्डमा एड भेरिफिकेसन गराउँदा सानु भण्डारीहरुले तयार पारेको ४२९ जना नक्कली नाम फाइलमा घुसाएर गृह मन्त्रालयमा पठाउनेबारे उनीहरुले सल्लाह गरेका छन् । उनीहरुको कुराकानी सुन्दा दाहाल सरकारले बनाएको टिमलाई नै प्रयोग गरेर योजनावद्ध काम गर्नुपर्नेमा देखिन्छन् । भण्डारी भने (माथि) गृहमन्त्रालयबाट भनाएर सट्याकसुटुक गरिहाल्नुपर्नेमा जोड दिइरहेका छन् । आफूहरुले सुरक्षा र गोपनीयताका खातिर एकार्काको विरोधीजस्तो अभिनय गर्ने र अरुका सामु गाली गरेको देखाउने बताएका नासु दाहालले सरकारी संयन्त्रको विश्वास गर्न भण्डारीलाई मनाउन खोजेको उनीहरुको कुराकानीबाट बुझिन्छ ।
'माथि १ नम्बर जिम्मेवार हुन्छ । त्यसपछि सेकेन्डको दुई नम्बर जिम्मेवार हुन्छ । तिनीहरुलाई अलिकति चटाएपछि कुरो सकिइहाल्छ । हामीले यो हिसाबले काम गर्ने हो ।'
दाहालले भनेका छन्, '१६ सयको कुरा पनि उठाएँ मैले । २०१८ मा भेरिफिकेसन भैसकेको, किन होल्डिङ गरेको भन्ने कुरा उठ्दा मैले नै राज्यले २० औं लाख खर्च गरेर बनाएको टिम हो नि त त्यो,त्यसले गरेको कुरालाई पनि रिकमेन्ड गर्नुपर्छ भनेँ मैले । तर, अर्काले गरेको किन गर्ने भन्ने कुरा पनि टिममा उठ्यो । मैले राज्यले बनाएको टिम हो त्यो भेरिफिकेसन त गर्नुपर्छ, यहाँबाट प्रस्तावसहित हामीले रिकमेन्ड गर्नुपर्छ, गर्ने हो । यो ४२९ लाई पनि हेरौँला भन्ने खालको कुरा भयो ।'
जवाफमा सानुले त्यसको (४२९ जना) को कुनै चिन्ता नगर्न आश्वस्त पार्दै भन्छन्,'तपाईं चिन्ता नलिनु,जुन सिष्टममा भन्नुहुन्छ त्यसैगरी गर्ने हो,तपाईं चुप बस्नुस् न ।' भेरिफिकेसनमा छुटेका १६ सयको रिकमेन्ड लेख्दा ४२९ को पनि आफूले रिकमेन्ड गर्ने दाहालको प्रतिवद्धता छ । सानुले 'अर्को त्यो छुट (नक्कली नाम) लाई पनि लेख्नुहोला' भनेपछि उनी भन्छन्, 'सबैलाई लेख्छु !'
कुराकानीका क्रममा शरणार्थी काण्डका नाइके सानुले केही अप्ठेरो परे माथिबाट मिलाउने भन्दै निर्धक्क भएर काम गर्न दाहाललाई आग्रह गरेका छन् । 'छुटलाई लेख्नु,म यता प्याट्ट पारिहाल्छु के,छिटो भोलि लेखेर पठाउनु न !', सानुको आग्रहमा दाहालको जवाफ छ, 'फेरि,कति आत्तिएको,भोलिदेखि यहाँ भेरिफाइ स्टार्ट भयो भने एक महिना लाग्छ । त्यो भनेको जनवरी लाग्ने हो ।'
'उनीहरुसहित (थप) एक महिना लाग्छ ?' भन्ने सानुको जिज्ञाशामा सुरेन्द्र बोल्छन् 'अनि टिमले हेर्न लागेन त ५०० मान्छेलाई !" तर, सानु भने छिट्टै काम सक्न जोड दिँदै 'केही गर्नुहुँदैन दुई दिनमा बोलाउनुपर्छ, राखिराख्न हुँदैन त्यहाँ', भन्छन् । माथिबाट दुई दिनमा पठाउन निर्देशन गराउने सानुको भनाईमा सहमत दाहाल 'अँ त्यो गरे त सक्कियो' भन्छन् ।
यही कुराकानीमा उनीहरुले 'एक नम्बर', 'दुई नम्बर' र 'तीन नम्बर' भनी यस प्रकरणमा संलग्न व्यक्तिहरुको वर्गीकरण पनि गरेका छन् । 'सचिवसँग एभरेष्ट होटलमा डिनर भैसक्यो । केही तलमाथि पर्यो भने सानु भण्डारी जिम्मेवार हुन्छ,तपाइँले प्रष्ट बुझ्नु होला । दुलाल जिम्मेवार हुन्छ,सचिव जिम्मेवार हुन्छ', दाहाललाई आश्वस्त पार्दै सानुले भनेका छन्, 'माथि १ नम्बर जिम्मेवार हुन्छ । त्यसपछि सेकेन्डको दुई नम्बर जिम्मेवार हुन्छ । तिनीहरुलाई अलिकति चटाएपछि कुरो सकिइहाल्छ । हामीले यो हिसाबले काम गर्ने हो ।'
सरकारी सिन्दुर पहिरिएका राष्ट्रसेवक कर्मचारीले गिरोहका सदस्यसँग फाइल तलमाथि पार्ने प्रतिवद्धता जनाउनु राज्यविरुद्धको गम्भीर अपराध हो । दाहालले आफ्नै मुखबाट बकेको यत्रो प्रमाण हुँदाहुँदै उनी अहिलेसम्म अनुसन्धानमा नतानिनु झन् अचम्म छ । यसले शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीसम्म तानिनसक्ने आशंकालाई थप बल पुर्याएको छ ।
यिनै तथ्य र प्रमाणका आधारमा दाहाललाई समातेर अनुसन्धान गर्ने हो भने बिचौलियाले भनेको 'एक नम्बर' 'दुई नम्बर' र 'तीन नम्बर'का व्यक्तिहरु समेत पत्ता लाग्ने सम्भावना छ ।
टिप्पणीहरू