झूठा ठहरिए सरकारी वकिलहरु जेल जान तयार

झूठा ठहरिए सरकारी वकिलहरु जेल जान तयार

सरकारी वकिलले नक्कली शरणार्थी प्रकरण गलत हिसाबले अदालतसम्म ल्याएको ठहरिएमा जेल जानुपरे पनि आफूहरु तयार रहेको बताएका छन् । 

नक्कली शरणार्थी प्रकरणमा सरकारी वकिलका तर्फबाट जवाफी बहसका क्रममा काठमाडौं  जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले यस्तो बताएका हुन् । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा शुक्रवार १८ जना आरोपित  प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरुले  बहस सकेसँगै अहिले  सरकारी वकिलहरु जबाफी बहसमा उत्रिएका छन् ।  
बहसका क्रममा सरकारी वकिल लक्ष्मण घिमिरेले अहिले मुद्दामात्र चलाएर प्रमाण नपुग्दा डामेर छोडेजस्तो हुने हुँदा प्रमाण पुगेकालाई मात्र ल्याइएको र अर्को मुद्दामा गजेन्द्र बुढाथोकीलाई समेत प्रतिवादी बनाइने बताएका छन् । 

उनले पक्राउ परेकाहरूलाई थुनामै राखेर पुर्पक्ष गरिनुपर्ने जिकिर गरेका छन् । 

सहन्यायाधिवक्ता घिमिरेले  इजलाशसमक्ष भने-गलत अभियोग लगाएको नभई संविधानअनुसार नै प्रतिवादीहरुलाई मुद्दा चलाइएको हो । यो प्रकरणलाई गलत हिसाबले अदालतसम्म ल्याएको ठहरिए जेल जानुपरे हामी तयार छौं श्रीमान । 

उनले यो प्रकरणमा मुद्धा चलाउनेहरु नै जेल जानुपर्ने हो भने प्रतिवादीहरु निस्किने अवस्था छ त श्रीमान भन्दै इजलाशसमक्ष प्रश्न समेत राखे ।  

प्रतिवादीका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेसहितका अरु दुई जना सरकारी वकिलहरुले  जवाफी बहस गर्ने कार्यतालिका छ । 

न्यायाधीश न्यौपानेले हिजो  इजलास उठ्ने बेला २ बजेसम्म सरकारी वकिलको जवाफी बहस सुन्ने र त्यसपछि आदेश दिने बताएका थिए । 

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने निर्णय  सम्भवत आजै काठमाडौं  जिल्ला अदालतले सुनाउनेछ ।

टिप्पणीहरू