जिल्ला अदालतमा सुरक्षाकर्मीको बाक्लो घेरा,ठूला मान्छेहरु जेल जाँदै

जिल्ला अदालतमा सुरक्षाकर्मीको बाक्लो घेरा,ठूला मान्छेहरु जेल जाँदै

काठमाडौं जिल्ला अदालत,बबरमहल वरपरको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । माइतीघरदेखि नयाँ बानेश्वर चोक र बबरमहलदेखि हनुमानस्थानसम्मको चारकिल्लामा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका वर्दी र हतियारधारीसँगै सादा पोशाकका सयौंलाई खटाइएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका १८ जनाविरुद्धको बहस र जवाफी बहस सकिएलगत्तै सो क्षेत्रको सुरक्षा कडा पारिएको हो । अबको केही बेरमा आरोपित तत्कालीन उपप्रधानमन्त्री,गृहमन्त्री, सचिव र गृहमन्त्रीका सुरक्षासल्लाहकारलगत डेढ दर्जन प्रतिवादीबारे थुनछेकको आदेश हुँदैछ । 

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको उक्त बहसपछि सम्भवतः १६ जनालाई कारागारमा राखेर पुर्पक्ष गर्नुपर्ने र दुई जनालाई धरौटी वा तारिखमा छाड्ने आदेश हुनसक्ने अनुमान गरिएको छ । आरोपितमध्ये लक्ष्मी महर्जन र टेकनाथ रिजाललाई तारेखमा छाड्नसक्ने कानुन व्यवसायीहरुले अड्कल लगाएका छन् । 

नेपाल प्रहरीमा कार्यरत महर्जनको बैंक खाता श्रीमानले प्रयोग गरेको र रिजालको वृद्धअवस्था, भुटानी शरणार्थी नेता रहेको अवस्था एवम् लेनदेनमा प्रत्यक्ष संलग्नता नदेखिएको आधारमा उनीहरु दुई जनाबाहेक अन्य १६ जनालाई तत्काल जेल चलानको आदेश हुनसक्ने भएकाले अदालत बाहिरको सुरक्षालाई मजबुत तुल्याइएको बुझिएको छ ।

टिप्पणीहरू