टोपबहादुर जेल गएसँगै संसदमा एमालेलाई अर्को घाटा

टोपबहादुर जेल गएसँगै संसदमा एमालेलाई अर्को घाटा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशसँगै नेकपा एमालेका निलम्बित सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको छ । 

फौजदारी अभियोगमा पक्राउ परेको सांसद थुनामा गए सांसद पद निलम्बित हुने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाले रायमाझीको पद निलम्बित भएको हो । प्रतिनिधिसभा नियमावली २०७९, नियम २४८ को उपनियम ३ र ४ मा सदस्यको पद निलम्बनसम्बन्धी व्यवस्था छ ।

प्रचलित कानूनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक,सेवा र सुविधासमेत स्थगित हुने उपनियम ३ मा उल्लेख छ । 

नियमावलीको यो व्यवस्थाले अब यो मुद्दाको अन्तिम किनारा नलागेसम्म रायमाझी संसदमा फर्कन पाउँदैनन् । मुद्दाको अन्तिम फैसला हुँदा उनले सफाई पाए भने पद कायम रहन्छ, दोषी ठहर भए निर्वाचित भएको क्षेत्र खालि रहन्छ । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको आरोपमा वारेन्ट जारी भएपछि फरार रहेका रायमाझी वैशाख ३१ गते पक्राउ परेका थिए । बैशाख २० गते फरार भएका उनी त्यसयता संसद बैठकमा उपस्थित भएका छैनन् । 

रायमाझी नेकपा एमालेको टिकटमा गत मंसिरको निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमालेकै अर्का सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बनमा छन् । महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि व्यक्ति हत्याको अभियोगमा अदालतमा मुद्दा विचाराधीन छ ।   

२०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको गरेको आरोपमा २०७७ सालमा जनकपुर उच्च अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गरी भागेका उनी अभियोग बोकेरै चुनावमा उठेर महोत्तरी–१ बाट निर्वाचित भएका थिए ।  हाल उनी फरार छन् ।

टिप्पणीहरू