शरीरमा ट्याटु खोपेका युवकको शव चिलाउनेको रुखमा
ललितपुरमा एक युवकको शव फेला परेको छ । गोदावरी नगरपालिका १० स्थित सल्यान्टार, मानडाँडामा रहेको सिरसिंगे सामुदायिक वनको चिलाउनेको रुखको हाँगोमा अन्दाजी २७ वर्षे युवक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
आज दिउँसो डेढ बजेको समयमा नाम, थर र ठेगाना नखुलेका युवकको शव फेला परेको प्रहरीले जनाएको छ । शव कफि रंगको पुरा बाहुला भएको सर्ट, कालो जिन्स पाइन्ट, पुमा लेखिएको सेतोमा खरानी रंगको धर्सा र बोर्डर कालो भएको स्याण्डो लगाएको अवस्थामा फेला परेको हो ।
प्रहरीले दिएको हुलियाअनुसार युवकको दायाँ हातमा ५५, बायाँ हातको नाडीमा अंग्रेजीमा डिइएभीए, ढाडमा क्रिस्चियन धर्मावलम्बीको क्रस आकार र घाँटीको बायाँतर्फको कानमुनी म्युजिक, संगीतको चिन्हजस्तै देखिने ट्याटुहरू देखिएको छ । त्यसैगरी पछाडिको भागमा छोटो र अगाडि केही लामो कपाल भएको, उचाई ५.४ फिटको युवकको शव फेला परेको हो ।
शवलाई पाटन अस्पताल ल्याइएको छ । आवश्यक अनुसन्धान र छानबिन थालिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू