कराडौं ठगेर फरार मेयरका दुई पदाधिकारी पक्राउ
बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका दुई पदाधिकारी पक्राउ परेका छन् । हजारौं बचतकर्ताको करोडौं बचत रकम बोकेर फरार भएका नेपालीको सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी पक्राउ परेका छन् । त्यसैगरी कर्मचारी लालमती रोकालाई पनि जिल्ला प्रहरी कार्यालय, बाग्लुङले नियन्त्रणमा लिएको बताइएको छ ।
अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । उनका अनुसार भण्डारीलाई बुर्तिबाङ बजारबाट पक्राउ गरिएको हो । त्यस्तै, रोकालाई ताराखोलाबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए । सञ्चालक समितिका अन्य सदस्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । सहकारी अध्यक्ष नेपाली गत जेठ ५ गतेदेखि परिवारसहित बेपत्ता छन् । हालसम्म उनको पत्तो लाग्न सकेको छैन ।
सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेर नेपाली रातारात सपरिवार बेपत्ता भएपछि पीडितहरुले प्रहरी गुहारेका थिए । बचतकर्ताहरुको दबाबपछि जिल्ला मालपोत कार्यालय, बाग्लुङ र बुर्तिवाङले अध्यक्ष नेपालीसहित उनका श्रीमती छेला र सञ्चालक भण्डारीको नाममा रहेको सबै सम्पत्ति रोक्का गरिसकेको छ ।
टिप्पणीहरू