यात्रुवाहक बसमा भन्सार छलिएको आधा करोडका सामान

यात्रुवाहक बसमा भन्सार छलिएको आधा करोडका सामान

जिल्ला प्रहरी परिसर, काठमाडौंले भन्सार छलेर भारतबाट ल्याइएको लाखौं मूल्य बराबरको सामान बरामद गरेको छ । अवैध रुपमा ओसारपसार गरिएको सामानसहित दुई जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

सर्लाहीको मलगंवाबाट लालबन्दी हुँदै काठमाडौं आएको ना.अ.ख २७७० नम्बरको डिलक्स यात्रुवाहक बसबाट कपडासहित विभिन्न खाद्य सामग्री बरामद गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए । 

उनका अनुसार अवैध रुपमा खाद्यान्न र कपडा आयात भइरहेको भनि प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो । सोही क्रममा प्रहरी वृत्त, बालाजुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १६, वनस्थलीबाट सामानसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ४ का ४९ वर्षीय सियाशरण राय यादव र हरिपुर नगरपालिका वडा नम्बर ३ का २७ वर्षीय विक्रम शेख हुन् । 

प्रहरीले बससहित ४९५ केजी पापड, १३४ प्याकेट नरिजल पानी चकलेट, १७८ प्याकेट ‘प्रिन्सेन वर्ल्ड’ लेखिएको चकलेट, ३९ प्याकेट पाइप चकलेट, २४० पिस रेडबुल, ८६ केजी सुर्ती, २४० पिस तुलसी, ६ थान चेन स्पोकेट, ७६८ मीटर रातो कपडा, दुई हजार ६२५ मीटर जाली कपडा र ७० पिस पर्दा गरेर ४८ लाख ३० हजार ११५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो । 

पक्राउ परेका दुवै जनालाई सामानसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, गौचरण पठाइएको छ ।

टिप्पणीहरू