अमृतपुर खानेपानीमा लाखौं हिनामिना, बैंक खाताबाट पैसा झिकेको अध्यक्षद्वारा स्वीकार
दाङको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लाखौं रुपैयाँ हिनामिना भएको छ । तुलसीपुरस्थित उक्त संस्थाका पदाधिकारीहरुले १७ लाख रूपैयाँ अनियमितता गरेको बताइएको छ ।
अध्यक्ष चन्द्रकान्त खरेल, सचिव दशरथ वली र कोषाध्यक्ष केशव वलीको मिलेमतोमा १६ लाख ९९ हजार ९ सय रूपैयाँ बाँडफाँड गरिएको स्थानीयको आरोप छ । तीमध्ये सबैभन्दा धेरै रकम कोषाध्यक्ष वलीले हिनामिना गरेको बताइन्छ ।स्रोतले १५ लाख ५ हजार ८ सय बदमासी गरेको प्रमाण फेला पारेको जानकारी दिएको छ । उनले संस्थाको सिद्वार्थ बैंकमा रहेको खाताबाट १५ लाख झिकेको देखिएको छ ।
प्राप्त विवरणअनुसार अघिल्लो वर्ष साउन १२ गते १०२०९६६३२० नम्बरको चेकबाट पाँच लाख र सोही वर्षको साउन ३० गते चेक नम्बर ००२९१२९२६९ बाट १० लाख रूपैयाँ झिकेका हुन् । कोषाध्यक्षले दुईवटा निजी धाराको पाँच हजार आठ सय रूपैयाँ समेत दाखिला नगरी आफैँले लिएको देखिन आएको छ ।
प्राप्त विवरणअनुसार सचिव दशरथले एक लाख छ हजार नौ सय रूपैयाँ अपचलन गरेका छन् । गत चैत ३० गते संस्थाको सिद्वार्थ बैंकको चेक नम्बर ३२१३३२२३ खाताबाट एक लाख रूपैयाँ निकालेका हुन् । उनले पनि संस्थाको छ हजार नौ सय रूपैयाँ अपचलन गरेको पाइएको छ । अध्यक्ष खरेलले अघिल्लो वर्ष असार ३० गते ३० हजार र फागुन ३० गते पाँच हजार नगद गरेर ३५ हजार झिकेको देखिएको छ । संस्थाको रकम हिनामिना गरेपछि आक्रोशित उपभोक्ताले खानेपानीको कार्यालयमा तालाबन्दी गरेका छन् ।
संस्थाका पूर्वकोषाध्यक्ष संगीत बस्यालको नेतृत्वमा गएका उपभोक्ताले हिजो कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन् । उनीहरुले दोषीमाथि कारबाहीको मागसहित तालाबन्दी गरेको बताएका छन् । छानबिन गर्न तुलसीपुर उपमहानगरपालिकामा निवेदन हालेका छन् ।
अध्यक्ष खरेलले घर खर्च चलाउन समस्या परेकाले संस्थाको पैसा आफूहरूले लगेको स्वीकार गरेका छन् । ‘मसहित सचिव र कोषाध्यक्षले पछि फिर्ता गर्नेगरी १७ लाख रूपैयाँ संस्थाको खाताबाट निकालेको हो । व्यवहारिक हिसाबले पैसा लगेका हौं,’ अध्यक्ष खरेलले भने, ‘नियमानुसार लैजान मिल्छ कि मिल्दैन मलाई थाहा छैन ।’
टिप्पणीहरू