गाविस अध्यक्षमाथि सरकारी जग्गा बेचेको आरोप
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटस्थित सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालिन गाविस अध्यक्षसहित छ जनामाथि मुद्दा चलाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्तिगत लाभका लागि सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याएको ठहर्याउँदै उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार तत्कालिन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरुङ र उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरुद्ध मुद्दा दायर गरिएको छ ।
पोखराको सराङकोटस्थित करिब ६ रोपनी सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा सराङकोट गाविसका जिम्मेवार कर्मचारी र पदाधिकारीले व्यक्तिगत लाभका लागि सार्वजनिक संस्था र सम्पत्तिको हानिनोक्सानी तथा दुरुपयोग गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरुसँग एक करोड ५० लाख बिगो मागदाबीसमेत गरेको छ ।
तत्कालिन जनप्रतिनिधिहरुले बाटो बनाउन बजेट व्यवस्था गर्ने भन्दै कानूनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गराएर टेन्डर आह्वान गरेका थिए । त्यसरी बोलकबोल गर्नेबाट प्रस्ताव गरी रकम लिएर अस्थायी बसोबासको प्रमाणपत्र दिई सरकारी जग्गा अनधिकृत तवरले बिक्री वितरण गरेको बताइएको छ ।
टिप्पणीहरू