लाइसेन्समा सेटिङ गरेवापत यातायात कार्यालयका हाकिममाथि मुद्दा
यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालिन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा फेल भएका विद्यार्थीलाई उत्तीर्ण गरी अख्तियार दुरुपयोग गरेको अभियोगमा शाहीसहित सहायक कम्प्युटर अप्रेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।
कार्यालयका तत्कालिन प्रमुख शाहीले आर्थिक वर्ष २०७८-०७९ मा लाइसेन्सको लिखित परीक्षामा फेल एक सय ८० जना विद्यार्थी उत्तीर्ण गराएर प्रयोगात्मक परीक्षामा सहभागी गराएको अख्तियारको दावी छ । त्यस्तै, आरोपपत्रमा ट्रायलमा फेल भएका २२३ र सहभागी नै नभएका ३९ जना गरी २८३ जनाको परिणाम फेरबदल गराएको उल्लेख छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यस कार्यमा सहायक कम्प्युटर अप्रेटर कठरिया र कम्प्युटर अप्रेटर रावलको पनि मिलोमत्तो रहेको पाइएको छ ।
उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
टिप्पणीहरू