कमरेडहरु अब त को कता, को कता ?
जनयुद्ध शुरुआतकै दिनदेखि आन्दोलनमा सहभागी भए पनि पूर्णकालीन कार्यकर्ता बनेको मिति भने ०५५ कात्तिकदेखि मात्र हो । ०५२ मंसिरमा पार्टी सदस्यता प्राप्त भएको थियो, पदोन्नति हुँदै जाँदा ०५६ असारमा इलाका, २०५९ जेठमा जिल्ला र २०६५ देखि ‘राज्य समिति सदस्य’को जिम्मेवारीमा रहें ।
२०६७ असार १७ गतेबाट ‘दुई लाइन संघर्ष’मा भाग लिएँ । त्यतिबेला म ‘तमुवान राज्य समिति’को सदस्य थिएँ । ०६७ असार १७ देखि २०६९ असार ५ सम्म पूरै दुई वर्ष निरन्तर अन्तरसंघर्ष गरिरहेँ । २०६५ मंसिरदेखि क.किरणको नेतृत्वमा विचार समूह जन्मिसकेको थियो । पहिले विचार समूहमा रहेर अन्तरसंघर्ष गरियो एक वर्ष । त्यसपछि अर्को एक वर्ष पार्टीभित्र पार्टी बनाइयो । त्यो एक वर्ष पार्वती थापा गोर्खाको इञ्चार्ज र म सेक्रेटरी थियौँ ।
एक वर्षपछि पार्टी फुट्यो २०६९ असार ५ गते । पार्टीभित्र पार्टी बनाउँदासम्म पार्वती थापाले नेतृत्व गरिरहिन् । तर, जब औपचारिक रूपमा पार्टी फुट्यो, पार्वती पछि हटिन् । म सेक्रेटरीमा यथावत् रहेँ । पार्वतीको ठाउँमा परशुराम रम्तेल इञ्चार्ज बने । मैले सहर्ष उनलाई इञ्चार्ज स्वीकार गरेँ किनकि त्यो पार्टीको निर्णय थियो । परशुराम रम्तेल मभन्दा २ वर्षपछि मात्र ‘पूर्णकालीन कार्यकर्ता’ भएका हुन् । पार्टीले उनलाई अगाडि बढायो र मलाई पछाडि हटायो ।
तर मैले पार्टी स्वार्थका लागि यो निर्णय मानिरहें । परशुराम र मैले ४ वर्षसम्म इञ्चार्ज र सेक्रेटरी भएर सहकार्य गरिरह्यौं । २०७३ जेठ ६ गते परशुरामले मार्ग परिवर्तन गरे । म आफ्नै पार्टीमा यथावत् रहेँ । हाम्रो पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’ हो । यो पार्टीको नेतृत्व अध्यक्ष क. मोहन वैद्य (किरण) ले गर्दै आउनुभएको छ ।
प्रचण्ड–बाबुरामसँग सम्बन्धविच्छेद गरेर हामीले नयाँ पार्टी गठन गरेको पनि आज असार ४ गते ११ औं वर्ष पूरा भएर १२ औं वर्ष प्रवेश गरेको छ । पार्टी फुटाउँदा क. मोहन वैद्य (किरण) लाई साथ दिने नेता रामबहादुर थापा (बादल), देव गुरुङ (कान्छा बहादुर), नेत्रविक्रम चन्दलगायतको त्यतिबेलाका हस्ती आज साथमा छैनन् । हामी उतिबेला (२०६५ सालको खरिपाटी भेला) का जिल्लास्तरीय कार्यकर्ता भने अहिलेसम्म पनि सँगै छौँ ।
म २०७९ पौषको ७ औं महाधिवेशनको प्रतिनिधि थिएँ । ८ औं महाधिवेशनका लागि आज हामी आयोजक समिति सदस्य छौँ । यसै वर्ष नै हामीले ‘आठौं महाधिवेशन’ गर्दै छौं । महाधिवेशन भनेको ‘विचार संश्लेषण’को थलो हो । २०६९ असार ४ गते आजभन्दा ठीक ११ वर्षअगाडि ‘ड्यास् माओवादी’ बनाउँदा विरोधीहरूले ३ महिना टिक्दैनन् भनेका थिए तर हामी ११ वर्ष त टिकिसक्यौँ । अब जीवनभर टिक्ने कुरालाई उद्देश्यको ‘अर्जुन दृष्टि’ बनाएर अगाडि बढ्नेछौं । यो एक दशक प्लस एक वर्षको समीक्षा यही नै हो ‘उद्देश्यप्रति इमान्दार बन्नु’ ।
– नारायण अधिकारी
टिप्पणीहरू