उपमेयरका पतिविरुद्ध मुद्धा दर्ता,गुप्ता फरार
कपिलवस्तु प्रहरीले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान सन्जय गुप्ताविरुद्ध मुद्धा दर्ता गरेको छ । उपमेयरका श्रीमानको ज्यादतीविरुद्ध ४ दिनदेखि नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । उपमेयरका श्रीमानले कर्मचारीहरुलाई थर्काउने,धम्क्याउने, गालीगलौज गर्ने,तथा आफूले भनेअनुसारका योजनामा बढि मूल्यांकन गर्न दबाब दिएको भन्दै शुक्रबारदेखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए । पेनडाउनदेखि लिएर जिल्ला प्रशासन कार्यालयसमेत घेराउ गरेपछि प्रहरीले बाध्य भएर आज सार्वजनिक मुद्धा दर्ता गरेको छ । मुद्धा दर्तासंगै गुप्ताविरुद्ध पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलाश जारी राखेको छ । कपिलवस्तु प्रहरी प्रवक्ता डिएसपी मीनबहादुर घलेले कर्मचारी तथा नगरपालिका कार्यपालिकाकै निर्णय भई आएको उजुरीको आधारमा मुद्धा दर्ता गरिएको बताएका छन् ।
चुनाव जितेको अर्को दिनदेखि उपप्रमुख सुनिताको पदको धाक जमाउँदै आएका सन्जय गुप्ताले उपप्रमुखको हैसियतले हुने जुनसुकै कार्यक्रम,नीति,योजना निर्माण तथा अनुगमनमा समेत हस्तक्षेप गर्दै आएका थिए । नगरपालिकाभित्र सन्चालन हुने योजनाहरुको अनुगमन संयोजक उपप्रमुख गुप्ता भए पनि श्रीमानले अनुगमन गरेर ठेकेदार वा उपभोक्तासंग सेटिङ्ग नमिलेसम्म उनीहरुको योजना पास गर्दैनथे । जसका कारण नगरपालिकामा चरम विवाद बढ्दै गएको छ । योजनाको मूल्यांकन गर्दा प्राविधिक कर्मचारीहरुलाई धम्क्याउने र उपमेयरका श्रीमानले भनेसरी योजनाको मूल्यांकलन तलमाथि नगरे गालीगलौज समेत गर्ने गरेका छन् । आफूले भनेका व्यक्तिहरुलाई उपभोक्ता समितिमा नराखे योजना सम्झौतामै अवरोध गर्ने, कमिशनमा नयाँ नयाँ योजनामा बजेट हाल्ने देखि लिएर नगरकार्यपालिका वैठकहरुमा समेत उपमेयरका श्रीमानले अवरोध तथा हस्तक्षेप गर्दै आएका थिए । अरु त अरु पालिकाले लगाएको नदीजन्य पदार्थ ठेक्कामा समेत उपमेयरका श्रीमान गुप्ताले ठेकेदारसंग अनुगमनका नाममा मासिक १ लाख रुपैयाँ उठाउँदै आएका थिए ।
प्रहरीले मुद्धा दर्ता गरी खोजतलाश व्यापक बनाएको थाहा पाएपछि उपमेयरका श्रीमान गुप्ता भारततर्फ हान्निएका छन् । पारिवारिक श्रोतका अनुसार धिरज (संजय) आफन्तकहाँ लखनउ गएको र असार मसान्त पछि मात्र आउने बताइएको छ । यसै बिच असार मसान्तको चटारो र हालै फुकुवा भएको नागरिकता कानून अनुसार वडा तथा नगरपालिकामा सेवाग्राहीको चापलाई ध्यानमा राख्दै कर्मचारीहरुले आन्दोलनलाई आंशिक रुपमा फिर्ता लिएका छन् । “मंगलबार देखि हातमा कालोपट्टि बाधेर काम गर्नेछौ, जनतालाई सास्ती दिनु हुदैन भनेर काममा फर्कियौ” लेखा अधिकृत बलराम न्यौपानेले भन्नुभयो ।
टिप्पणीहरू