कृषि विकासमा खटाइएका हाकिम भ्रष्टाचारमा डामिए
कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख पञ्चलाल बुढासहित छ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कृषि सिंचाई निर्माण योजनाको कार्यमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढासहित सबइञ्जिनियर राजेन्द्र शाही, प्राविधिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध मुद्दा दायर भएको जनाइएको छ ।
उनीहरुले मुगुको खत्याड गाउँपालिका ४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट प्राप्त बजेटका आधारमा आर्थिक वर्ष २०७६÷०७७ मा सकिनुपर्ने योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार पारेका थिए । सोही आधारमा बिल भुक्तानीलगायत कार्य गरेर १२ लाख ८३ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम १२ लाख ८३ हजार ३४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।
टिप्पणीहरू