महिलाको सामूहिक बलात्कारपछि ज्यान लिएका फरार हत्यारा १२ वर्षमा फेला

महिलाको सामूहिक बलात्कारपछि ज्यान लिएका फरार हत्यारा १२ वर्षमा फेला

ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी सूर्य थोकर भन्ने सूर्यबहादुर थोकर पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ३३ वर्षीय उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

थोकर समेतका प्रतिवादीहरुले २०६८ असोज २६ गते राति पीडित महिलाकै घरमा पुगेर पालैपालो बलात्कार गरेपछि धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए । 

जिल्ला अदालत मकवानपुरको २०७८ वैशाख ५ गतेको फैसलाले उनीसहितका प्रतिवादीलाई ज्यान मारेको मुद्दामा दोषी ठहर गर्दै ज्यान मारेकोतर्फ २० वर्ष, ज्यान मार्ने षड्यन्त्र गर्नेतर्फ १२ वर्ष, जबरजस्ती करणी गरेकोमा ७ वर्ष र सामूहिक रुपमा जबरजस्ती करणीतर्फ ५ वर्ष गरी कुल ४४ वर्ष कैद सजाय सुनाएको थियो । 

तर, अदालतको फैसला अगावै फरार उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका १२ गाईघाटबाट नियन्त्रणमा लिएको जनाएको छ । 

उनलाई फैसला कार्यान्वयनका निम्ति जिल्ला अदालत मकवानपुरमा पेश गरी अदालतको आदेशबमोजिम कैद भुक्तान का लागि कारागार पठाइएको छ ।

टिप्पणीहरू