सरकारी जग्गा निल्न खोजेको आरोपमा समातिएका भाटभटेनीका साहुसहित चार जना एक हप्ता थुनामै
बालुवाटारस्थित सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणमा समातिएका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज आरोपित चारै जनालाई काठमाडौं जिल्ला अदालतमा उभ्याएर म्याद थपको अनुमति लिएको हो ।
यस प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम हिजो पक्राउ परेका थिए । प्रहरीले सात जना पक्राउ गरे पनि ३ जनाले पहिले नै अदालतबाट पक्राउ पुर्जीविरूद्ध 'स्टे अर्डर' लिएका थिए । उनीहरूलाई हिजै साँझ नै छाडिएको थियो ।
कसैलाई जग्गा फिर्ता गरेको बाहानामा अनि केहीलाई अदालतको आदेश देखाएर उन्मुक्ति दिइएको यो प्रकरणमा थुप्रै ठुलाबडाको समेत संलग्ना रहेको अनुमान गरिएको छ ।
टिप्पणीहरू