खेलकुदमय हाङचौ खेलाडी स्वागतको व्यग्र प्रतिक्षामा

खेलकुदमय हाङचौ खेलाडी स्वागतको व्यग्र प्रतिक्षामा

समृद्ध अर्थतन्त्रतर्फ उन्मुख चीन भौतिक र सामाजिक विकासको चरम उत्कर्षलाई छिचोल्दै छुट्टै पहिचान बनाउन सफल बनेको छ । शीतकालीन र ग्रीष्मकालीन ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेर चीन खेल जगतमा पनि स्थापित मुलुक भइसकेको छ । 

राजधानी बेइजिङमा सन् १९९० र गोङझौमा सन् २०१० मा एसियाली खेल सम्पन्न गरेको मुलुकले अहिले १९ औं संस्करणको एसियाली खेलकुदको तयारी अन्तिममा पुर्याएको छ । एसियाली खेलकुदको नयाँ संस्करण सन् २०२२ को सेप्टेम्बरमा हुने कार्यतालिका थियो । तर, कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको हो । आगामी २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चच्याङ प्रान्तको राजधानी हाङचौ शहरमा एसियाली खेलको महाकुम्भ हुँदै छ ।

चच्याङ प्रान्तलाई ऐतिहासिक प्रान्तको रुपमा लिइन्छ । पाँच हजारभन्दा पुराना पुर्खाको विरासतको इतिहास बोकेको यो प्रान्त चिनियाँ सभ्यताको प्रमुख थलो पनि हो । हाङचौलाई चिनियाँहरुले ‘मायालु शहर’ को उपमा दिएका छन् । विश्वसँग खेलकुदको माध्यमबाट माया साट्ने अभिप्रायले एसियाली खेलकुदको आयोजना उक्त शहरमा गर्न लागिएको व्यवस्थापन टोलीको भनाई छ ।

 

शहरका भित्ताहरुमा ‘हाङचौमा छिट्टै भेटौंला, हाङचौ पर्खिरहेको छ’, ‘उत्साहित हाङचौ’, ‘मुटुदेखि मुटुसम्म’ जस्ता मायालु शब्द कोरिएका छन् । चिनियाँहरु पाहुनाको स्वागत र सत्कार गर्नमा अलिकति पनि कञ्जुस्याइँ गर्दैनन् भन्ने शन्देश दिइएको छ । 

माया दिन्छन् तर अपेक्षा गर्दैनन् । उनीहरु आत्मविश्वासी भएकाले पनि त्यसो भनिएको हो । मेहेनती र कर्ममा विश्वास गर्ने उनीहरु प्रकृतिप्रेमी पनि हुन् । चिनियाँ बुढापाका भन्छन्, ‘हाङचौमा सयौं वर्ष पहिले एक प्रेमिल जोडी थियो । कुसंस्कृति र अन्धविश्वासले जगडिएको तत्कालीन समाजले अन्तरजातीय कारण उनीहरुलाई एक हुन दिएन । निःस्वार्थ र वास्तविक मायाको बन्धनमा रहेका उनीहरुले स्वार्थी र पापी पृथ्वीलोकमा सँगै हुन नपाएपछि आत्महत्या रोजे ।’

उक्त अमर जोडी पुतलीको आत्मामा बसेको उनीहरु बताउँछन् । त्यसैले, हाङचौलाई पहिले ‘हुआङ्गयु’ अर्थात पुतली भन्न थालियो र पछि त्यसलाई परिवर्तन गरी ‘हाङचौ’ राखिएको छ । पुतलीका दुई पखेटाले जीवनलाई गन्तव्यसम्म डोर्याउन सहयोग गर्ने विश्वासका साथ उनीहरु पुतलीको आकृतियुक्त उपहारलाई सबैभन्दा उत्कृष्ठ ठान्छन् । मायालु जोडीको प्रतिकात्मक झल्काउन रोटीभित्र मासु र सागपात राखेर रोल बनाइने काट्टिरोल किसिमको ‘चोङ्ग वाओ हुई’ नाम गरेको चिनियाँ कुर्मुरे रोटी यहाँको शुभकार्यको मेन्युमा नछुट्ने परिकारमध्ये एउटा देखियो ।

 

शहरमा बहुतल्ले भवनहरु समेत पुतली आकृतिमा निर्माण भएका छन् । नयाँ पुस्ताले समेत इतिहासलाई बिर्सिएका छैनन् । अमर प्रेमिल जोडीको स्मरणलाई पुनः स्थापित गर्न १९ औं एसियाली खेल हुने रंगशाला नै पुतली आकारमा बनाइएको छ । विशाल पुतली आकारको रंगशालाको एकातर्फको पखेटामा बसेर झण्डै छ हजार दर्शकले एकसाथ खेल हेर्न सक्ने सरकारी अधिकारीहरुको दाबी छ । 

पहिलो चरणमा बास्केटबल खेल प्रतियोगिता हुने भएकाले ‘बास्केटबल कोर्ट’ बनाइएको छ । सोही ब्लकमा ‘आईस हक्की’ खेलाइने छ । त्यसका लागि विद्युतीय माध्यमबाट भुईंमा बरफ जमाउने उपकरण जडान गरिएको छ । पुतलीको एउटा पखेटाबाट अर्को पखेटामा जाँदा अन्यलाई असर नपुगोस् भनेर हरियालीयुक्त सौन्दर्यीकरणलाई ध्यान दिँदै करिब चार सय मीटर लम्बाइको सुरुङ्गमार्ग पनि तयार पारिएको छ । 

पुतलीको अर्को पखेटामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी ‘स्विमिङ्ग पुल’ बनाइएको छ । पोखरीको एकातर्फ छ तहको कम्प्याक्ट जम्प र डाईभिङ्ग गर्न मिल्ने गरेर छ मीटर गहिरो पोखरी खनिएको छ । सोही ब्लकको अर्कोतर्फ  तीन मीटर गहिराईको पौडी विधाका लागि पोखरी बनाइएको हो । कमलको फूलसँग हाङचौबासीको अत्यन्तै लगाव भएकाले ६० हजार दर्शक अट्ने गरी कमलको फूल आकृतिको विशाल आकर्षक रंगशाला पनि खडा गरिएको छ । 

उक्त रंगशाला उद्घाटन र समापनमा मात्र खुल्नेछ । दर्शकहरुले खेलसहित रंगशालाको माहौलसमेत हेर्न मिल्नेगरेर थ्रीडी एलइडी जडान गरिएको छ । १२ वटा नयाँ र २६ वटा पुराना गरी ३८ रंगशाला परिसर र १८ वटा बाहिरी स्थान गरेर ५६ स्थानमा प्रतिस्पर्धा हुनेछ । ४० वटा विधामा खेल हुनेछ । चार सय ८३ पदकका लागि एसियाका हजारौं खेलाडीबीच घमासान प्रतिस्पर्धा हुने एसियन ओलम्पिक कमिटीले जनाएको छ । 

खेल अभ्यासका लागि एसियन गेम भिलेज र चार वटा सब भिलेज तयार गरिएको छ । खेलाडीहरुको सहजताका लागि शहरकै सुविधासम्पन्न स्थानमा बसोबासको व्यवस्था मिलाइएको बताइन्छ । रंगशालामा खपत हुने विद्युतीय ऊर्जाका लागि सोलार प्यानल जडान गरिएको छ । त्यस्तै, चौबिसै घण्टा आपतकालीन मेडिकल टीम पनि तयारी अवस्थामा राखिएको छ । इन्टरनेटको फिचरलाई समेटेर तीनवटा रोवर्ट मस्कट(यन्त्र मानव) को व्यवस्था गरिएको छ । तिनालाई पँहेलो रंगमा कोङ्गकोङ्ग, आकाशे रंगमा लियानलियान र निलो रंगमा छेनछेन नाम दिइएको छ । 

कोङ्गकोङ्गले पुरातत्व, लियानलियानले मानवनिर्मित पश्चिम ताल र छेनछेनले विशाल नहरको प्रतिनिधित्व गर्छ । उक्त नहर बेइजिङदेखि हाङचौसम्म करिब १३ सय किलोमिटर लामो क्षेत्रमा फैलिएको छ । हाङचौबासीहरु कोयन्ताङ्ग नदीलाई जननी ठान्छन् । एसियाली खेलको लोगोमा उक्त नदीलाई झल्काइएको छ । निलो रंग र नदीले छालको तरंगलाई समेटेको बताइन्छ ।

सडक, चोक, बगैंचा र तालतलैयाको सजावट हेर्दा हाङचौ एसियाली खेलका खेलाडीहरुको व्यग्रमा प्रतिक्षामा रहेको महशुस हुन्छ । चिनियाँ राष्ट्रपति सि जिङपिङले चच्याङमा छ वर्ष श्रमदान गरेर रणकौशल लागु गरेको चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुले बताए । उनीहरु यसलाई विकासमा कोसेढुंगाको रुपमा लिन्छन् । हाङचौको शुरुको शब्द ‘एच’ लाई समेटेर १० वटा बहुतल्ले एकीकृत भवन ‘सिभिक सेन्टर’ पनि निर्माण गरिएको छ । 

त्यस्तै, ३१० मीटरको ६३ तल्ले दुई भवनलाई पनि ‘एच’ आकारमा बनाइएको छ । जसलाई हाङचौ गेट भन्छन्, स्थानीयबासी । नवनिर्मित भवनहरुलाई पश्चिम ताल र कोयन्ताङ्ग नदीको पानीको प्रतिकात्मक अर्थ दिनेगरी आकाशे निलो रंगमा सजाइएको छ ।

(हाङचौ भ्रमणपछि एक जना नेपाली पत्रकारको अनुभव)

टिप्पणीहरू