चौधरीको सिमेन्टमा कसले हाल्यो १२ करोड ?

चौधरीको सिमेन्टमा कसले हाल्यो १२ करोड ?

कागजपत्र मिलाउने तर लगानीको कुनै श्रोत नदेखाउने विनोद चौधरीको पछिल्लो प्रयासमा लफडा निम्तिएको छ । नवलपरासीको दुम्कीबासस्थित सिजी सिमेन्ट कारखानामा हालिएको अवैध १२ करोड बढीको लगानीलाई वैध बनाउने प्रयास अन्ततः राष्ट्र बैंकको उपल्लो तहमा पुगेर फिर्ता भएको तथ्य खुलेको छ । मुलुकभित्रैको पैसोलाई विदेशी लगानीको आवरणमा लगानी देखाएर वार्षिक लाभांश, त्यस्तै परे लगानी रकम सबै अनुकूल बेला डलरको रूपमा विदेश पुर्‍याउने उनको अभियानमा गभर्नर महाप्रसादले ‘ब्रेक’ लगाइदिएका हुन् । 

मुन्तिरका अधिकारीहरूसँग सेटिङ मिलाए पनि गभर्नरले भाँजो हाल्ने चाल पाएपछि चौधरीले २०७८ चैतमा महाप्रसादलाई पदच्युत गर्ने योजना बुनेका थिए । उनको योजनामा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि साथ दिए तर सर्वोच्च अदालतको अन्तरिम आदेशले गभर्नरलाई पदमा निरन्तरता दियो । राष्ट्र बैंकको गभर्नरमा पछि चौधरीकै नबिल बैंकको सिईओ बन्न लागेका एनबी बैंकका ज्ञानेन्द्रप्रसाद ढुंगानालाई अघि सारिँदै थियो ।

अहिले त्यही गभर्नर फेर्ने योजना चौधरीका निम्ति गलपासो बनेको छ । नबिल बैंकमा २५ वर्षअघि रवि भवनको निवासबाट झिकेर हालिएको पैसालाई वैदेशिक लगानीको नाममा परिणत गराउँदै उनले बर्सेनि कराडौं रूपैयाँ बराबरको विदेशी मुद्रा बंगलादेशको ढाका लैजाने गरेका छन् । त्यस्तै योजना अघि सार्दै सिजी सिमेन्टमा पनि १२ वर्षअघि १२ करोड २७ लाख लगानी गरेका थिए । त्यतिबेला नेपाल बस्ने कान्छा छोराको नामको सेयरलाई अहिले विदेशी लगानीको हैसियत दिन उनले सरकारी निकायलाई प्रभावमा पारे पनि केन्द्रीय बैंकका गभर्नरलाई भने किन्न सकेका थिएनन् । 

सिजी सिमेन्टको पुँजी ७० करोड र त्यसमध्ये १७ दशमलव ६ प्रतिशत विदेशी लगानी भनिएको छ । विदेशी लगानी भनिए पनि त्यसबापत हुन आउने १२ करोड २७ लाखभन्दा बढी पैसा नेपाल ल्याएको नदेखिएपछि केन्द्रीय बैंकले सिजीको फाइललाई तामेलीमा राखिदिएको छ । त्यतिबेलै राष्ट्र बैंकको स्वीकृतिमा उक्त रकम विदेशबाट ल्याएको देखाउनुपर्नेमा गुपचुप मिलाइएको थियो ।

उत्पादनको ८ वर्षपछि ०७८ सालदेखि कम्पनीले नाफा कमाउन थाल्यो भन्दै चौधरीले सवा १२ करोडको लाभांश रकम विदेशी मुद्रामा कन्भर्ट गरेर कान्छा छोरा राहुलको नाममा दुबई लैजान खोजेका थिए । राहुल दुबईमा रियलइस्टेट व्यवसाय गर्छन् । बैंकले वैदेशिक लगानीको प्रमाण मागेपछि डेढ वर्षदेखि उनको फाइल बालुवाटारस्थित विदेशी विनिमय व्यवस्थापन विभागमा थन्किएको स्रोतको दाबी छ । नबिलमा झैँ सिजी सिमेन्टमा पनि अवैध रकमलाई वैध विदेशी लगानी बनाउने योजनामा गाँठो परेपछि केही महिनाअघि छोरो निर्वाण चौधरी दुई पटक राष्ट्र बैंक पुगेका थिए ।

बैंक स्रोत भन्छ, ‘चौधरीले दाबी गरेको भनिएको १२ करोड बढीको लगानी कुन मुलुकबाट ल्याइएको हो ? केही प्रमाण छैन । कुन विदेशी मुद्रामा रकम ल्याइएको थियो ? त्यसबारे पनि कागजातले केही बोल्दैन ।’ यस्तो बेवारिस रकमलाई विदेशबाट छोराले लगानी गरेको हैसियत देखाउन कांग्रेस सांसद तथा विवादास्पद व्यापारी चौधरीले फर्जी कागजात पेश गरेका हुन् ।

सिजी सिमेन्टको प्रबन्धपत्रमा उक्त लगानी सिंगापुरस्थित सीजी कर्प ग्लोबलको भएको उल्लेख छ । उक्त संस्थाका हाकिम कान्छा छोरा राहुल हुन् । राष्ट्र बैंकले उक्त रकम सिंगापुर, दुबई वा अन्य कुनै मुलुकबाट ०६८ सालमा सिजी सिमेन्ट स्थापना हुँदाको बखत बैंकिङ च्यानलबाट ल्याएको कागजात र प्रमाण मागेपछि अहिले चौधरी चकित परेका छन् । 

‘सबैतिरबाट सरकारी कागजात मिलाएको पाइएको छ, उद्योग विभागदेखि सम्बन्धित निकायले सो रकमलाई वैदेशिक लगानी भनेर प्रमाणित गरिदिएका छन् तर हामीले वैदेशिक लगानी भए विदेशबाट रकम ल्याएको आधिकारिक प्रमाण खोज्यौं, त्यसैमा उनले मार खाए,’ बैंक स्रोतले जनआस्थासँगको कुराकानीमा भनेको छ । राष्ट्र बैंकमा दबाब दिँदै चौधरीले डेपुटी गभर्नरको तहसम्म पहुँच पुर्‍याएका हुन् । तर फाइल अघि बढाउन गभर्नर अधिकारीसम्म पहुँच पुर्‍याउन नसकेपछि चौधरीका बाउछोराले टाउकोमा हात राखेको स्रोतको दाबी छ ।

एकजना कर्मचारीले बताए, ‘अर्बपति भए पनि खर्बपति भए पनि, देश छाडेर बाहिर बस्न जान्छु भन्दा उनले पनि अरुले झैँ पाउने भनेको पाँच हजार डलर मात्रै हो । के फुर्ती लाउनु !’

पछिल्लो नीतिअनुसार वैदेशिक लगानीसम्बन्धी फाइल सबैजसो स्वीकृतिका लागि गभर्नरसम्म पुग्नैपर्छ । यसअघि कतिपय फाइल विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरले नै सदर गरिदिने चलन थियो । सोही नियममा टेकेर चौधरीले दुई जना डेपुटी गभर्नरको विभागीय जिम्मेवारी हेरफेरमा समेत अप्रत्यक्ष च्यानल प्रयोग गरेका थिए । नियमानुसार फाइल सदरको निम्ति सम्बन्धित डेपुटी गभर्नरले पनि उक्त रकमलाई वैदेशिक लगानी प्रमाणित गर्दै नियमानुसार लाभांश विदेश लैजान स्वीकृतिको लागि लिखित सिफारिस गर्नुपर्ने हुन्छ । मुखले चौधरीलाई हुन्छ भने पनि त्यो भाषामा राय लेख्न सम्बन्धित डेपुटी पनि तयार नभएपछि चौधरीको छद्म वैदेशिक लगानी ‘बाँदर चेपुवा’ मा परेको प्रष्टै छ ।

– द्रव्य शाह
 

टिप्पणीहरू