माल्टा पठाइदिने नाममा लाखौँ ठगी
वैदेशिक रोजगारीमा माल्टा पठाइदिने नाममा ठगी धन्दा चलाउँदै आएका एक युवक पक्राउ परेका छन् ।
माल्टा पठाएर आकर्षक तलबको जागिर दिलाउने प्रलोभनमा सर्वसाधारण ठग्दै आएका युवराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनलाई समातेको जनाएको छ ।
झापा घर भई हाल काठमाडौंको टोखा बस्दै आएका ३८ वर्षीय युवराजले मासिक एक लाख रुपैयाँभन्दा बढी तलब हुने गरी वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभनमा पीडितबाट साढे ६ लाख रुपैयाँ ठगेका थिए ।
आफू ठगिएको चाल पाएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी हालेका थिए । त्यसपछि विभागको अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा युवराज काठमाडौंको कालोपुलमा फेला परेको बताइएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।
टिप्पणीहरू