दाइजो नपाएपछि श्रीमती र नाबालिका छोरीको हत्या

दाइजो नपाएपछि श्रीमती र नाबालिका छोरीको हत्या

दाईजोको निहुँमा रौतहटमा एक महिला र उनकी छोरीको हत्या भएको छ । मौलापुर नगरपालिकामा श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आमाछोरीको हत्या गरेको मृतक महिलाको माइती पक्षले आरोप लगाएको छ ।

मौलापुर नगरपालिका ४, बौधा पतौराका धिरेन्द्र साहकी २४ वर्षीया माला भन्ने कविता साह र उनकी २ वर्षकी छोरी आरोहीको हिजो परिवारका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेको बताइएको छ । तीन वर्षअघि सामाजिक रितिरिवाज अनुसार माधवनारायण नगरपालिका ५, मिठुअवाका विजयशंकर साहले आफनी छोरीको विवाह मौलापुर पतौरा गाउँका नागेन्द्र साहका छोरा धिरेन्द्रसँग गराएका थिए ।

विवाह अघि कबोल गरेको दाइजो दिन नसकेका कारण आफ्नी छोरी र नातिनीको हत्या भएको मृतकका बाबु विजयशंकर साहले बताए । मोटरसाइकल, पलङ, भैंसी, सुनको सिक्री माग्दै ज्वाईंले छोरीमाथि शारीरिक दबाब दिएको उनको भनाई छ । ‘तर आफूले दिन नसकेका कारण नातिनीसहित छोरीलाई कुटेर मारे,’ उनले भने । 

ज्वाईं धिरेन्द्रको परिवारले हिजो मध्यरात निर्ममतापूर्वक कुटेर छोरीको हत्या गरेपछि भर्याङमा झुण्डयाइएको र नातिनीलाई घरको पंखामा झुण्डयाएको पनि बताए ।
बिहान ३ बजेको समयमा उनलाई छिमेकीले फोन गरेर ज्वाईंको परिवारले कुटेर छोरी र नातिनीको हत्या गरेको जानकारी दिएका थिए ।

त्यसपछि प्रहरीलाई खबर गरेर आफू मौलापुर पुगेको साहको भनाई छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको बताए । मृतकका फरार श्रीमान र ससुराको खोजी भइरहेको छ । श्रीमती र छोरीको हत्यापछि धिरेन्द्र र परिवारका सबै सदस्य फरार छन्  ।

टिप्पणीहरू