विदेशबाट आएका दुई जना यात्रुले दिए विमानस्थलका डिएसपीलाई ज्यान मार्ने धम्की

विदेशबाट आएका दुई जना यात्रुले दिए विमानस्थलका डिएसपीलाई ज्यान मार्ने धम्की

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका एक जना डिएसपीलाई ज्यान मार्ने धम्की दिइएको छ । फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ बाट बिहान साढे ७ बजे काठमाडौं आइपुगेका उनीहरुले विमानस्थलको आगमन कक्षमा रहेको भन्सार एरियामा उक्त धम्की दिइएको बताइएको छ । 

दुबईबाट आएका कास्कीका पासपोर्ट नम्बर ०९२१९३२६ का रत्नबहादुर केसीले बोकेर ल्याएको सुनको भन्सार तिर्न निर्देशन दिएपछि ज्यान मार्ने धम्की दिइएको प्रहरीको दाबी छ । ‘भन्सार एरियाको एक्सरे जाँच एरियामा चेकजाच गर्ने क्रममा निजको साथबाट २० ग्राम सुन फेला पर्यो । सोही सुनको भन्सार तिर्न आग्रह गर्दा निजले भन्सारका कर्मचारीलाई अपशब्द प्रयोग गर्दै भिडियो खिचेपछि उनीसँगै आएका अर्का यात्रु सौरभ खड्काले धम्की दिएका हुन्,’ भन्सार स्रोतले बताएको छ ।

मापसे गरेका बागलुङका खड्का र सुन बोकेका केसीले भन्सारका कर्मचारीमाथि हातपातको प्रयाससमेत गरेको प्रहरीको दाबी छ । खड्काको सुन केसीले बोकेको तथ्य खुलेको छ । 

त्यहाँ कार्यरत डीएसपी सूर्य सुवेदीलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताइन्छ । त्यसपछि प्रहरी वृत्त गौशाला पुर्याएर आवश्यक अनुसन्धान थालिएको हो ।

टिप्पणीहरू