सहकारी अध्यक्षलाई पक्रन प्रहरीको सीआईबीमा पत्र
बचतकर्ताको अर्बौं रकम कुम्ल्याएर भागेका देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौंलागाईसहित सञ्चालकलाई पक्राउ गर्न सहकारी विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्र लेखेको छ । ललितपुरको सातदोबाटोस्थित देउराली सहकारी संस्थाका अध्यक्ष चौंलागाईसहित सञ्चालक लामो समयदेखि कार्यालय नै बन्द गरेर फरार भएपछि एक सय ९६ जना बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए ।
विभागले सहकारी पीडित बचतकर्ताबाट प्राप्त हुन आएका सक्कल उजुरी र निवेदनलाई आवश्यक कारबाहीको निम्ति सीआईबीमा पठाएको जनाएको छ । ब्यूरो प्रवक्ता सञ्जय सिंह थापाले अनुसन्धानको क्रम जारी रहेको उल्लेख गर्दै हाल सहकारीका अध्यक्ष र सञ्चालकको खोजतलास भइरहेको बताए । असार १ गतेदेखि कार्यालय नै बन्द गरेर सहकारी अध्यक्ष र सञ्चालकहरु फरार भएपछि देउरालीका बचतकर्ताहरु माइतीघर मण्डलामा आन्दोलित छन् ।
उनीहरुका अनुसार सहकारीले करिब तीन अर्ब रुपैयाँ हिनामिना गरेको छ । यता देउरालीले भने असार १० गते विज्ञप्ति जारी गर्दै रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो । विज्ञप्तिमा उजुर नगर्न बचतकर्तासँग अनुरोध गरिएको थियो ।
अधिंकाश बचतकर्ताको रकम फिर्ता गरिसकेको दाबी गर्दै सहकारीले बाँकी रकम छिटै सल्टाउने बताएको छ । तर बचतकर्ताले हालसम्म सहकारी अध्यक्ष र सञ्चालक बेपत्ता रहेको र आफूहरुले भुक्तानी नपाएको सप्रमाण उल्लेख गरेका छन् ।
टिप्पणीहरू