ललिता निवास जग्गा प्रकरणका थप आरोपित पक्राउ

ललिता निवास जग्गा प्रकरणका थप आरोपित पक्राउ

ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा थप दुईजना समातिएका छन् ।  

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आज गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते गरेको आरोप छ । 

यी दुई जना समातिएसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको छ । हिजोमात्रै सिआईबीले तत्कालीन वडासचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्रेको थियो । 

त्यसअघि भाटभटेनी सुपरमार्केटका मालिकसहित चारजना पक्राउ परेका थिए । तीनजना भने अदालतको अन्तरिम आदेशका कारण समातिएको भोलिपल्टै छुटेका हुन् । 

सयौँ रोपनी सरकारी जग्गा हिनामिना गरिएको उक्त प्रकरणमा पक्राउ परेकाविरुद्ध सरकारी कागजात किर्ते कसूरमा मुद्दा चलाउने सिआईबीको तयारी छ ।

टिप्पणीहरू