उपभोक्ता समितिको साढे ६ लाख लुटेर वडाध्यक्ष टाप, पुलिस गुहार्दै स्थानीय
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिंह विष्टविरुद्ध प्रहरीमा जाहेरी परेको छ । उपभोक्ता समितिको साढे ६ लाख रुपैयाँ लुटेर वडाध्यक्ष भागेको भन्दै स्थानीयले प्रहरी गुहारेका हुन् ।
वडाध्यक्ष विष्टसहित सुशील गुरुङ र बलिराज शाहीले आपसी मिलेमतोमा खार्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लिएर भागेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उनीहरुविरुद्ध आज उजुरी परेको बताइएको छ ।
हिजो दिउँसो साढे २ बजेतिर काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम उनीहरुले टोल समितिका अध्यक्षलाई धम्क्याएर लगेको उपभोक्ता समितिकी सदस्य दीपा खड्काले बताइन् । उनका अनुसार वडाध्यक्ष विष्टले यसअघिदेखि नै रकम लिनका लागि धम्क्याउँदै आएका थिए । तर, हिजो रकम लुटपाट भएपछि मात्र यसबारे थाहा भएको उनले सुनाईन् ।
‘वडाध्यक्ष विष्टले पहिल्यैदेखि रकम लिनका लागि धम्क्याउने, थर्काउने काम गर्दै आउनुभएको रहेछ,’ खड्काले भनिन्, ‘हिजो टोल समितिको अध्यक्षलाई धम्क्याएर रकम लुटेर भागेपछि मात्रै हामीले सोबारे जानकारी पाएका हौं । प्रहरी कहाँ उजुरी दिएका छौं । उहाँसहित लुटपाटमा संलग्न तीन जना अहिले फरार हुनुहन्छ । फोन पनि स्विच अफ छ ।’
विष्ट एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
टिप्पणीहरू