मर्निङ वाकमा गहना लगाएर नहिँड्न प्रहरीको सल्लाह
नेपाल प्रहरीले विशेषगरी बिहानको हिँडाई (मर्निङ वाकमा गहना लगाएर नहिँड्न आग्रह गरेको छ । त्यसरी हिँडेका महिलाका गहना लुटेका चार जनालाई पक्राउ गरेपछि सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
विशेषगरी महिलाका सुनका सिक्री र गहन लुट्ने चार जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गहना लुटपाटमा संलग्न चार जनालाई आज सार्वजनिक गरेको छ ।
जसमा रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीले बिहानीपख महिलाका गहना लुटेका थिए । उनीहरुले बिहान महिलाको घाँटीमा लगाइएको सुनको सिक्री लुटेका हुन् ।
लुटेराले लुटपाटमा मोटरसाइकलको प्रयोग गरेको पाइएको छ । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुन, लुटपाटमा प्रयोग गरिएका दुई वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र छ थान मोबाइल सेट बरामद भएको जनाइएको छ ।
टिप्पणीहरू