भाटभटेनीका मालिकको समर्थन गर्दै व्यावसायीहरुले भने, ‘आरोप लाग्दैमा थुन्नु हुदैँन’
निजि क्षेत्रसम्वद्ध बिभिन्न संघ संगठनहरुले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको समर्थनमा विज्ञप्ति निकालेका छन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले अदालतले दोषी ठहर नगर्दै व्यवसायीलाई थुन्न नहुने तर्क गरेका हुन् । यसले निजी क्षेत्र त्रसित भएको उनीहरुको भनाई छ ।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्रको रहेको उल्लेख गर्दै पछिल्लो समय व्यवसायीमाथि भइरहेको धरपकडले लगानी थप निरुत्साहित हुनेतर्फ विज्ञप्तिमा सचेत गराइएको छ ।
‘देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कानून विपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ । तर, कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुदैँन ।’
राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भन्दै उनीहरुले आरोप प्रमाणित भएपछि मात्रै कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
साथै, कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्ने पनि उनीहरुको भनाइ छ ।
टिप्पणीहरू