साइकलयात्रीलाई मुक्का हानेर सडकमै ढाल्नेविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान

साइकलयात्रीलाई मुक्का हानेर सडकमै ढाल्नेविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान

साइकलयात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा पक्राउ परेका एक जनाविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढेको छ । 

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४, दुधफार्म अगाडिको सडकमा साइकलयात्री पवन साहलाई मरणासन्न हुनेगरी कुटेको आरोपमा पक्राउ परेका आयुष भेटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप गरि प्रहरीले अनुसन्धान अघि बढाएको हो । 

गत असार २० गते राति साढे ८ बजे भएको कुटपिटको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आयुषलाई पक्रेको हो । भिडियोमा देखिएअनुसार बा. १५ च ३४४५ नम्बरको कार छेउ हुँदै विपरीत दिशाबाट आइरहेका साहलाई आयुषले कारबाट निस्किएर टाउकोमा मुक्का प्रहार गरेका हुन् । 

मुक्का लागेपछि सडकमै बेहोस भएका उनलाई आयुष र कारमा रहेका उनका साथीले घिसार्दै सडक छेउमा लगेर फ्याँकिदिएको भिडियोमा देख्न सकिन्छ । साहको नाकबाट रगत बगिरहेको थियो । 

सडकमै बेहोस भएका साहलाई स्थानीय र प्रहरीले कोशी अस्पताल पुर्याएका थिए । १९ वर्षीय आयुषलाई प्रहरीले घटनाको भोलिपल्टै पक्राउ गरेको हो । कारमा सँगै रहेका र कुटपिटमा मतियार १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्की फरार छन् । उनीहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङ्गले जनाएको छ । 

पक्राउ परेका भेटुवाल विद्यार्थी हुन् । साह सामान्य मजदुरीबाट जीविकोपार्जन गर्दै आएका थिए ।

 

टिप्पणीहरू