ठगका अनेक जुक्ति : बाहिर डलर, भित्र कागजको बिटो
ठगहरुले सर्वसाधारणलाई आफ्नो जालमा पारेर ठग्न अनेक जुक्ति लगाउने गर्छन् । कागजको बिटो बाहिर डलर राखेर ठगी प्रयासको पछिल्लो घटना बाहिर आएको छ ।
यस्ता धूर्त ठग हुन्, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भई हाल स्वयम्भू बस्ने ६५ वर्षीय पाल्साङ तामाङ । अमेरिकी डलर भनेर कागजको बिटो दिन खोजेका उनलाई सम्बन्धित व्यक्तिले प्रहरीलाई बेलैमा खबर गरेर पक्राउ गराएपछि ठगीको नयाँ धन्दा थाहा भएको हो ।
हाल प्रहरी नियन्त्रणमा रहेका तामाङले बाराको निजगढ नगरपालिका–३ घर भइ भक्तपुर थिमी बस्ने हरिचन्द्र बम्जनलाई आफूसँग ५६ हजार ३५० अमेरिकी डलर रहेको जनाउँदै सटहीका लागि आग्रह गरेका थिए । त्यसबापत केही रकम पाउने आश्वासन दिएर तारन्तार फोन गरेका थिए । त्यसपछि बम्जनको सहयोगमा प्रहरीले उनलाई आज ललितपुरको नख्खुबाट नियन्त्रणमा लिएको हो ।
उनीमाथि तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । बाहिर अमेरिकी डलर राखेर भित्र कागजको खोस्टाको बिटो बनाइएको अवस्थामा जाली डलरसमेत प्रहरीले बरामद गरेको छ ।
टिप्पणीहरू