एक अर्ब ठगीको अन्तर्राष्ट्रिय गिरोह समातियो
उच्चतम प्रविधिको उपयोग गर्दै एक अर्बभन्दा बढी रुपैयाँ ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सात सदस्यलाई उदयपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेकामा भारत उत्तराखण्ड राज्यको राज्य पौडी गढवाल, एमकेश्वर ब्लक घर भएका ३६ वर्षीय आई.टी.इञ्जिनियर प्रवीण भट्ट र विराटनगर महानगरपालिका ६ घर भएका हेमराज साह हुन् ।
त्यसैगरी गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य अभियुक्तहरुमा सप्तरी विष्णुपुर गाउँपालिका २, सिम्राहाका निरजकुमार साह, राजविराज नगरपालिका १, डुम्रीका २५ वर्षीय डम्बर साह, गुल्मीको इस्मा गाउँपालिकाका ५ बस्ने ३२ वर्षीय धु्रव थापा, झापाको झापा गाउँपालिका १, बेलौतीबारीका ३१ वर्षीय बरजहान सेख र कलैया उपमहानगरपालिका वडा नम्बर २० बसन्तपुरका २३ वर्षीय रुस्तम मन्सुरी पनि हुन् ।
अभियुक्तहरुले विभिन्न प्रविधि, फेसबुक, मेसेन्जर, भाइवर, ह्वाट्सअपलगायत सामाजिक सञ्जाल उपयोग गर्दै विभिन्न व्यक्तिबाट एक अर्ब, नौ करोड रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ । उनीहरुविरुद्ध उदयपुर, कटारी ४ का ३६ वर्षीय सरिता तामाङले ठगीको उजुरी दिएकी थिइन् ।
तामाङलाई गुडनेस इजरायल नामको फेसबुक म्यासेन्जरबाट सम्पर्क गरी साथी बनाई कुराकानी गर्दै प्रभोलनमा पारेर ठगेका थिए । शुरुमा साथीलाई ७० हजारको अमेरिकी डलर बराबरको पार्सल पठाइ दिएकाले एयरपोर्टमा उक्त सामान रोकिएको भन्दै फोटो पठाइएको थियो । जतिसक्दो छिटो सामान लिनको लागि विमानस्थलको भन्सारमा कर तिर्नुपर्ने भन्दै एक लाख ३० हजारभन्दा बढी रुपैयाँ ठगेका थिए ।
प्रहरीले अभियुक्तहरुविरुद्ध अनुसन्धान गर्दै जाँदा पार्सल पठाएको र चिठ्ठा परेको भन्ने प्रचार गरेको, जुवा, हुण्डी कारोबारमा संलग्न भएको प्रमाणबाट खुलेको हो । अभियुक्तहरुले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सुक्ष्म रुपमा व्यक्तिको आर्थिक हैसियत, सोचाई तथा व्यवहारिक ज्ञानको बुझाइ र भावनात्मक अवस्थाको अध्ययन गरी ठग्दै आएका थिए । साइबरसम्बन्धी ज्ञान भएका ती सबैले
फेसबुक, म्यासेन्जरलगायत सामाजिक सञ्जालमार्फत् फ्रेन्ड रिक्वेस्ट पठाउने तथा कल गरेर साथी बनाई प्रभोलनमा पार्ने गरेका थिए । सामान्य व्यक्तिलाई अग्रपंक्तिमा देखाएर मुख्य व्यक्तिहरु भने आफु सुरक्षित बच्ने प्रयास गरेको पनि खुलेको छ ।
अभियुक्तविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरमा म्याद थप भई अनुसन्धान कार्य अघि बढेको प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए । अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालयको पहलमा जेठ ९ गते विभिन्न स्थानबाट पक्राउ गरिएको डिएसपी रविन कार्कीले जानकारी दिए ।
उनीहरुलाई सार्वजनिकीकरणपछि नागरिकलाई अपरिचित व्यक्तिले पठाएको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्न, सामाजिक सञ्जाल प्रयोग गरेपछि लगआउट गर्न, पासवर्ड र पीनकोर्ड सेयर नगर्न, समय समयमा परिवर्तन गर्न र विशेषगरी भारतको कोड नम्बर ं००९१ र पाकिस्तानको ं००९२ बाट आएको फोन कललाई शंकास्पद मान्ने, नबुझी लिंकमा क्लिक नगर्ने, ओटीपीहरु अरुलाई सेयर नगर्ने र सामाजिक सञ्जालमा आफ्नो मुभमेन्टहरु सेयर नगर्न अनुरोधसमेत गरेको छ ।
टिप्पणीहरू