चौधरीको घरमा डलर र दराज

चौधरीको घरमा डलर र दराज

चिनियाँ धनाढ्य तथा विश्वका डलर अर्बपतिको सूचीमध्ये ६७ नम्बरमा रहेका ज्याक मा दुई साताअघि अकस्मात् काठमाडौं आएर पाकिस्तान गए । ढाका हुँदै निजी चार्टर विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले राजधानीको बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा दुई रात बिताए । विनोद चौधरीको रविभवनस्थित निवासमा पुगेर छोरासँग पनि भेटे । कालिमाटी तरकारी बजार, स्वयम्भूनाथ, बौध्द र भक्तपुर दरबार स्क्वायर भ्रमण गरे ।

तर, विश्वकै निकै धनीमध्येका एक, त्यो पनि छिमेकी मित्रराष्ट्र चीनका नागरिकसँग नेपाली अधिकारीहरूको भेट भएन । विमान चार्टर गरेर आएका विश्वकै एक जना धनी व्यक्ति सामान्य पर्यटकको हैसियतमा आएका थिए । चीनको प्रख्यात कम्पनी अलिबाबाका संस्थापक उनले होटल बसाइमा अरुसँग भेट गरेको खबर हालसम्म बाहिरिएको छैन । तर, सामान्य ढंगले हेर्दा ज्याकको भ्रमण केका लागि भएको थियो ? भन्ने जिज्ञासा राजनीतिक र आर्थिक क्षेत्रमा हुनु स्वाभाविक हो ।

उनको काठमाडौं आगमन ढाकाबाट भएको थियो भने प्रस्थान पाकिस्तानको लाहौरतर्फ भयो । ढाका, काठमाडौं र लाहौरमा एकैसाथ भएको उनको भ्रमणको उद्देश्यमा एउटा विषय समान छ । चीनको प्रख्यात इ–कमर्श कम्पनी अलिबाबाको लगानी रहेको ‘दराज’ यी तीन वटै मुलुकमा उम्दा इ–कमर्श कम्पनीको रुपमा सञ्चालित छ । भारतमा अमेरिकी कम्पनी अमेजनको दबदबा छ । वरपरका श्रीलंका र म्यानमारमा पनि दराजको लोकप्रियता बढेको बताइन्छ । नेपाललगायत सबै मुलुकका दराजमा उनै ज्याक माको स्वामित्वको अलिबाबाको सतप्रतिशत लगानी रहेको देखिन आएको छ ।

दक्षिण एसियामा सबैभन्दा पहिले सन् २०१२ मा पाकिस्तानमा खुलेको दराजलाई अलिबाबाले सन् २०१८ मा २० करोड डलरमा किनेको थियो । त्यसपछि भारतबाहेक दक्षिण एसियाली मुलुक तथा म्यानमारको इ–कमर्श कम्पनीमा उसको स्वामित्व कायम भयो । दराज सबैभन्दा पहिले पाकिस्तानमा सन् २०१२ मा स्थापना भएको थियो । उर्दुमा दराजको अर्थात् लामो समय अर्थात् अनन्तकाल भन्ने हुन्छ । 

नेपालमा भने यसको स्थापना सन् २०१६ मा मात्र भएको हो । त्यसपछि सन् २०१८ र २०१९ मा दराजको एप्लिकेसनमा व्यापक परिवर्तन गरियो । लगत्तै नेपाली बजारमा आक्रामक ढंगले अगाडि आएको छ । अहिले यही दराजको क्षेत्रलाई थप विस्तार गर्न ज्याकले एकै पटक तीन वटा मुलुकको भ्रमण गरेको बताइन्छ । चीनमा कर र राजश्वको मामिलामा करोडौं डलर कारबाहीमा परेको अलिबाबाको लगानी रहेको नेपालका दराज र अन्य इ–कमर्श कम्पनीलाई हालसम्म नियमन गर्ने कुनै कानुन र निश्चित निकायसमेत देखिँदैन । यसतर्फ सरकारले खासै चासो पनि देखाएको छैन । अलिबाबाको पूर्ण स्वामित्व रहेको दराज नेपाल मुलुकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी विद्यमान कानुनमा टेकेर स्थापना भएको हो । तर यसका कामकारबाहीबारे अहिलेसम्म सरकारले कुनै प्रश्न उठाउन सकिएको छैन । पर्याप्त कानुन अभावमा नेपालमा इ–कमर्श व्यवसाय एकपक्षीय ढंगले निर्वाध रुपमा सञ्चालित छ । 

अलिबाबालाई उदाहरणको रुपमा लिने हो भने इ–कमर्श कम्पनीले वेब पोर्टलको आधारमा उपभोक्तादेखि उपभोक्तासम्म, व्यवसायदेखि व्यवसायसम्म सेवा र वस्तुको बिक्री गर्छ । यसले इलेक्ट्रोनिक भुक्तानी सेवा, खरिद बिक्रीसम्बन्धी सर्च इञ्जिन तथा क्लाउड कम्प्युटिङ सेवासमेत उपलब्ध गराउँदै आएको छ । सोही प्रयोजनकासाथ अघि बढेको दराज नेपालको एमडी यतिखेर आँचल कुँवर हुन् । उनी यसअघि अमेरिकी कम्पनी अमेजनको सियाटलमा कार्यरत थिइन् । त्यहाँ उनले साढे पाँच वर्षसम्म स्विडेन, पोल्याण्ड, साउदी अरेबिया र इजिप्टमा इ–कमर्श प्लाटफर्म बिस्तारको निम्ति काम गरेकी थिइन् ।

नेपालको सन्दर्भमा सबैभन्दा रमाइलो पक्ष इ–कमर्श व्यवसायमा कारोबार नगदमा हुने गरेको छ । अघिल्लो वर्षसम्म दराज नेपालको कारोबारमा १० प्रतिशत मात्र डिजिटल वा इ–पेमेन्ट्सको भाग थियो । बाँकी ९० प्रतिशत कारोबारको भुक्तानी नगदमा हुने गरेको देखिन आएको छ । भलै अहिले त्यस्तो कारोबार ५० प्रतिशत पुगेको कम्पनीको दाबी छ । 

नेपालको इ–कमर्शमा भुक्तानीको माध्यमपछि सबैभन्दा ठूलो चुनौती जिपिएस म्यापिङ सिष्टम अर्थात् नक्सा हेरेर ठेगाना पत्ता लगाइने विधि बनेको छ । कामचलाउ जिपिएस म्यापिङ सिष्टम (नेभिगेसन) का कारण अहिले सामान तथा सेवा भुक्तानीको क्रममा सही ठेगाना उल्लेख नहुने गरेकाले यस्तो व्यवसायमा अप्ठेरो परेको पनि दराजको एउटा अध्ययनमा देखिन आएको छ । यसले मुलुकका साना ठूला ८० वटा शहर तथा बजारमा आफ्नो सेवा पु¥याएको दाबी छ ।

यस्तो अवस्थामा चौधरी ग्रुपको तर्फबाट ज्याक मालाई नेपाल भ्रमणको क्रममा इ–कमर्शलगायत डिजिटल पेमेन्ट सिष्टम प्रोभाइडरमा सहभागिताका लागि आग्रह गरिएको हुन सक्ने बताइन्छ । सिजी पेलाई अलि पेको लगानीमा दराजको आधिकारिक भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसप) बनाउने र दराज कम्पनीमा चौधरीको लगानी गर्नेबारे कुराकानी भएको अनुमान गरिएको हो । नत्र ज्याक माले कालिमाटी तरकारी बजारको अपर्झट भ्रमण किन गरे ? रवि भवन पुगेर चौधरीलाई किन भेटे ? विदेशी धनाढ्य उडेर पाकिस्तान पुगेलगत्तै निर्वाण चौधरीले उनीसँग भक्तपुर र स्वयम्भूमा खिचेका फोटो किन एकाएक सामाजिक सञ्जालमा हालेर प्रचार गरे ? 

राष्ट्र बैंक स्रोतका अनुसार केही समयअघि दराज नेपालको तर्फबाट डिजिटल भुक्तानी कम्पनी पेमेन्ट सिष्टम प्रोभाइडर (पिएसपी) को निम्ति राष्ट्र बैंकमा अनौपचारिक कुराकानी भएको थियो । तर, विदेशीले १५ प्रतिशत मात्रै लगानी गर्न पाइने विद्यमान नियमको कारण दराज उक्त कुराकानीपश्चात् पछि हटेको हो । हालै मात्र चीनको विच्याट पेले नेपालमा पनि सोही डिजिटल प्लाटफार्मबाट भुक्तानी गर्न मिल्ने बनाइएको छ । यसअघि अलि पे र विच्याट पेबाट गरिने भुक्तानीलाई राष्ट्र बैंकले गैरकानुनी भनेको थियो ।
 

टिप्पणीहरू