प्रितमको प्रेममा अनि किन नफसुन् प्रचण्ड !
पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबैजसो दलको समर्थन थियो । प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पुस २६ गते विश्वासको मत लिँदा त कांग्रेससमेत समर्थनमा उभियो । प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले समर्थन जनाएपछि झण्डै सतप्रतिशत विश्वासको मत पाउने पहिलो प्रधानमन्त्रीका रुपमा प्रचण्डको दुर्लभ रेकर्ड नै बन्यो । त्यसलगत्तै एमालेसँग समीकरण तोडेर कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्केका प्रधानमन्त्रीसँग अहिले पनि संसदमा सुविधाजनक बहुमत छ ।
संवैधानिक तथा राजनीतिक रुपले ठीकठाक अवस्थामा हुँदाहुँदै पनि प्रचण्डको राजीनामा मागेर प्रतिपक्षी दलले यसबीच संसद अवरुद्ध पार्यो । सरदार प्रितम सिंहको जीवनीमा आधारित पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरै पटक दिल्ली पुगेको अभिव्यक्ति दिँदा संसदमा विरोधको सामना गर्नुभएका प्रधानमन्त्रीले लामो स्पष्टीकरण दिएपछि एउटा संकट त टर्यो तर, जननिर्वाचित संसदको बहुमत लिएर देशको कार्यकारी प्रमुखको कुर्सीमा बसी ‘दिल्लीपरस्त’ अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचना खेप्नुपर्यो ।
त्यसो त, नेपालमा भारतीय चासो र सरोकार खुला रुपमै प्रकट हुने गरेको प्रमाणित तथ्य नै हो । राजनीतिक तहमा मात्र नभई सामान्य कर्मचारीको सरुवा–बढुवामा समेत भारतको चासो रहने गरेको धेरैले बताउने गर्छन् । त्यस्ता थुप्रै दृष्टान्त पनि छन् । इतिहासको एउटा कालखण्डमा नेपालको क्याबिनेट बैठकमै भारतीयको प्रतिनिधित्व हुन्थ्यो । अहिले हस्तक्षेपको रुप परिवर्तन भए पनि पूर्णतः मुक्त हुन सकेको छैन । डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भएका बेला 'सत्ताको तालाचाबी अन्तै हुँदोरहेछ' भनेर यहाँका नेताहरूको भारतपरस्त मनोवृत्तिप्रति कटाक्ष गरेका थिए । केपी ओलीले भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख सामन्त गोयललाई मध्यराति बालुवाटारमा भेटेको विषय बेलाबखत चर्चा र विवादमा आइरहन्छ ।
नेपालका नेताहरूमा रहेको ‘भारतपरस्त मनोविज्ञान’ प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा झल्किन्छ नै, तर के प्रितम सिंह आफैँमा यहाँको सत्ता राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्ति हुन् त ? भारतीय राजनीतिमा कतै गणनामै नआउने उनले नेपालमा अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउने हैसियत राख्छन् ? जानकारहरूका अनुसार प्रितम त्यो स्तरको राजनीतिक कनेक्सन भएका पात्र नै होइनन् । यद्यपि प्रचण्डसँग उनले व्यक्तिगत र पारिवारिक तहमा राम्रो सम्बन्ध भने बनाएका छन् । प्रचण्ड–प्रितम कनेक्सन राजनीतिक नभई आर्थिक–सामाजिक हो भन्छन् जानकारहरू ।
त्यसो त, झण्डै ७० वर्षदेखि नेपालमा रहेका प्रितम आफैँमा विवादित पात्र हुन् । यहाँ रहेका शिख समुदायलाई नागरिकताबाट बन्चित गराएकोदेखि गुरुद्वाराको सम्पत्ति हिनामिना गरेको आरोपसम्म उनले खेप्दै आएका छन् । वि.सं. १९६० को दशकतिर जम्मुबाट नेपाल आएका हुन् प्रितम । उनका बाबु कान सिंह त्यतिबेला त्रिभुवन राजपथको बाटो हुँदै ट्रक लिएर काठमाडौँ छिरेका थिए । त्यसयता तीनपुस्ता यतै बसेको यो परिवारलाई धेरैले नेपाल आउने पहिलो सरदारका रुपमा बुझ्ने गरेका छन्, तर त्यसअघि नै सरदारहरू नेपाल भित्रिइसकेका थिए । खानेपानी, सडक विभागलगायतका सरकारी संस्थामा थुप्रै सरदार इञ्जिनियरका रुपमा कार्यरत थिए । राजा त्रिभुवनका पाइलट पनि सरदार नै हुन् ।
ढुवानी व्यवसाय गरिरहेका प्रितम त्यसपछि मोडर्न इण्डियन स्कूलको प्रवन्धक भए । त्यतिबेला भारतीय नागरिकहरूलाई यहाँका स्कूलले भर्न लिंदैनथे । त्यही कारण प्रितम, एभरेष्ट होटलवाला मक्बुल लारी, हायात रिजेन्सीका राधेश्याम सर्राफ र टाटा कम्पनीको त्यसबेलाका नेपाल एजेन्सी उमेशचन्द्र जैनले मिलेर ट्रष्ट स्थापना गरी स्कूल चलाउने आइडिया निकालेका थिए । भारतीय दूतावासको संरक्षणमा चलाइएको त्यो स्कूल सानेपास्थित इन्टरनेशनल क्लब रहेको सुरेन्द्र भवनमा थियो । श्रीलंका मर्चेन्ट बैंक, बंगलादेश बैंक, हरिसिद्धि टायल कारखाना डुबाउने मध्येको एक एलबी ग्रुपले पछि त्यो भवन किन्यो ।
चार दाजुभाइमध्येका माइला प्रितमसँगै उनका भाइ अहिलेसम्म नेपालमै छन् । उतै राजनीतिमा लागेका दाजु रंगिल सिंह जम्मुको विधायकसमेत भए । ८८ वर्षीय प्रितमले यहाँको नागरिकता लिएका छैनन् । दाजुभाइलाई सम्पत्ति नदिन चलाखीपूर्वक उनले नागरिकता नलिएको सिंह परिवारका निकटहरू बताउँछन् । आफूले नागरिकता लिएपछि भाइलाई पनि दिलाउनुपर्ने बाध्यता बुझेका उनले कमाएको सम्पत्ति भाग लगाउन नपरोस् भनेर यस्तो जुक्ति निकालेको बताइन्छ । आफूले नागरिकता नलिए पनि छोरा महेन्द्रपाल सिंहलाई भने नागरिकता दिलाए ।
सम्पत्तिको लोभले नागरिकतासमेत नलिएका प्रितम अन्ततः सम्पत्तिकै कारण पारिवारिक झमेला र अनेक झन्झटमा फस्दै गए । छोरा महेन्द्रले बैंकबाट ऋण लिएर धादिङमा रिसोर्ट र पेट्रोल पम्प व्यवसाय गरेका थिए । मोजमस्तीमा रमाउने उनले किस्ता तिर्न नसकेपछि धितो राखेको जग्गा लिलाम हुँदै गयो । न बैंकको ऋण चुक्ता भयो, न जग्गा बाँकी रह्यो । भागेर दिल्ली पुगेका महेन्द्रको हर्टअट्याकले उतै निधन भयो । प्रितमले नाति अंगत सिंहलाई अघि सारेर अंश मुद्दा नहालेको भए थापाथलीको पाँच रोपनी जग्गा पनि खुस्किने थियो । प्रचण्डले कुरा मिलाइदिएर अजय सुमार्गीले आठ वर्षअघि त्यो जग्गा किनेपछि सरदार प्रितमको खुट्टो टेक्ने ठाउँ बाँकी रहेको जानकारहरू बताउँछन् ।
प्रितमले सुमार्गीलाई बेचेको थापाथलीको जग्गा त्यही हो, जहाँ माओवादीहरू काठमाडौँमा माधव नेपालको सरकारविरुद्ध प्रदर्शन गर्न आउँदा सेल्टर लिएर बसेका थिए । त्यही क्रममा प्रचण्डसँग पम्फा भुसालमार्फत उनको चिनापरिचय भएको हो । भर्खर काठमाडौँ आएका बेला आफ्ना कार्यकर्तालाई सेल्टर दिएर गुन लगाएका प्रितमसँग त्यसपछि नै प्रचण्डको क्रमशः घनिष्टता झांगिँदै गएको र सम्बन्ध पारिवारिक तहमा पुगेको बताइन्छ । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सरको उपचारका लागि दिल्ली जाँदा प्रितमको ‘सागर अपार्टमेन्ट’मा बसेका थिए । प्रकाश दाहालले बिना मगरलाई भगाएर लैजाँदा पनि त्यही अपार्टमेन्टमा बसेका हुन् ।
नेपालमा प्रधानमन्त्री बनाउन दिल्ली धाउने भनिएका सरदार प्रितमको आफ्नै परिवारचाहिँँ कतिसम्म लथालिंग भने उनका छोरा र नाति दुबैको घरवार राम्रो भएन । छोराको मृत्यु हुनुअघि नै बुहारीसँग पारपाचुके भइसकेको थियो । उनी अहिले चण्डीगढमा बस्छिन् । रातो बंगला स्कुलमा शिक्षक रहेकी नातिनी बुहारीको पनि अंगतसँग पारपाचुकेको मुद्दा चलिरहेको छ ।
नेपालमा शिखहरूको जनसंख्या जम्मा १४ सय छ । त्यो समुदायका नेता भनिएका प्रितमले नै नागरिकता नलिएपछि अरुले पनि लिएनन् र शिखहरूको संख्या कम भयो भनिन्छ । ट्रक चलाउने सरदारहरूबाट पाँच–पाँच रुपैयाँ उठाएर किनेको गुरुद्वाराको जग्गा बैंकमा राखेर बेइमानी गरेको आरोप पनि छ प्रितममाथि । वीरगञ्जको जग्गा लिलाम नै भयो भने बुटवलको जग्गा अहिलेसम्म विवादित छ । त्यसैले शिख समुदायका मान्छेहरू भन्छन्, ‘प्रितम सिंह आफैँ फ्रड मान्छे हो, त्यस्ताको कुरा पत्याएर हौसिने प्रधानमन्त्री नफसेर को फस्छ ?’
टिप्पणीहरू