काठमाडौंमा कति होलान् लाइसेन्सवाला हतियार
सरकारले विशिष्ट भनिएका व्यक्तिहरूलाई छुट्टै खालको सुरक्षा दिँदै आएको छ । यसबाहेक हुने खाने सर्वसाधारणलाई पनि हतियार राख्ने छुट छ ।
तर, यसो गर्दा हातहतियार तथा खरखजाना ऐन, २०१९ अन्तर्गत इजाजतपत्र भने लिनुपर्ने हुन्छ । यससम्बन्धी नियमावली, २०२८ मा हावादारी बन्दुकबाहेक एक व्यक्तिलाई बढीमा तीन नालसम्म र एक परिवारलाई बढीमा ६ नालसम्म हातहतियार राख्न इजाजतपत्र दिन मिल्ने प्रावधान छ । हतियार राख्नका लागि उमेर र मानसिक स्वास्थ्य, नागरिकता र प्रतिष्ठा संगीन फौजदारी अभियोगमा सजायँँ नपाएको, शिकार र हातहतियारसम्बन्धी कसूरमा सजायँँ नभोगेको हुनुपर्छ ।
त्यसैगरी, हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ ले हातहतियार राख्न तिर्नुपर्ने शुल्कको व्यवस्था गरेको छ । जसअनुसार पेस्तोल, रिभल्वर वा मिनिएचर राइफलसहित अन्य राइफल राख्न प्रत्येकको पाँच हजार रुपैयाँ इजाजतपत्र दस्तुर बुझाउनुपर्छ । नेपालभरको हकमा ६ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने प्रावधान छ । नवीकरण दस्तुर जिल्लाभर तीन हजार र नेपालभर पाँच हजार रुपैयाँ तोकिएको छ ।
टोटावाल बन्दुक वा मिनिएचर राइफल प्रत्येकको जिल्लाभर इजाजतपत्र दस्तुर चार हजार र मुलुकभर पाँच हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । भरुवा बन्दुक राख्नका लागिसमेत तीन हजार रुपैयाँ शुल्क तोकिएको छ ।
काठमाडौंमा इजाजत प्राप्त हतियार छ्याप्छ्याप्ती रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट हालसम्म सात हजार १५७ हतियारको इजाजत जारी भएको छ । त्यसमध्ये विदेशी शिकारीलाई अस्थायी लाइसेन्ससहित २० वटा हतियार प्रदान गरिएको छ । यस वर्ष हालसम्म एक हजार बढीले इजाजत नवीकरण गरिसकेको प्रशासनले जनाएको छ । निजी हातहतियार बेचबिखन गर्न मिल्दैन । यद्यपि, नामसारी भने गर्न मिल्छ ।
कस्ता व्यक्तिलाई दिइन्छ हतियार ?
वैध हतियार राख्नेमा ठूला उद्योगी र राजनीतिक दलका नेताहरू बढी छन् । आफ्नो सुरक्षामा खतरा भएको भन्ने व्यक्तिहरूलाई जिल्ला प्रशासनले हातहतियारसहितको सुरक्षा प्रदान गर्दै आएको छ । तर, यसका लागि निश्चित प्रावधान तोकिएको छ । हातहतियार राख्नका लागि स्वास्थ्य अवस्था ठीक हुनुपर्छ । शारीरिक र मानसिक रोगीले हतियार राख्न पाउँदैन । त्यस्तै, हतियार राख्न चाहने व्यक्तिको चालचलन सही छ भनेर प्रहरीले प्रमाणित गरेको रिपोर्ट चाहिन्छ । प्रतिरक्षाका नाममा दिइने हतियार जथाभावी चलाउन भने पाइँदैन ।
यसबीच, गुण्डा नाइकेहरूले पनि हतियार राख्ने इजाजत लिएका छन् । सो हतियारको दुरुपयोग गरेर फिरौती माग्ने गरिएको छ । संरक्षित वन्यजन्तुको सिकार, अवैध असुली, धम्क्याउनेलगायत कार्य पनि लाइसेन्सप्राप्त हतियारधारीले गर्दै आएका छन् । यता, बैंकहरूलाई पनि इजाजतपत्र हतियार दिइँदै आइएको छ ।
नेपाल प्रहरीले हतियारको इजाजतपत्र भए पनि त्यसको ‘मिस युज’ गर्न नपाउने जनाएको छ । सूचना अधिकारी नायब महानिरीक्षक कुबेर कडायतले तोकिएको मापदण्डविपरीत हतियार प्रयोग गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताए ।
इजाजतप्राप्त हतियार राख्न कानुन नै भएकाले यसलाई गलत भन्न नमिल्ने उनको जिकिर छ । ‘हतियारका लागि इजाजत दिनै हुन्न भन्ने होइन । तर, जथाभावी प्रयोग गर्न भने पाइएन । हतियारको निगरानी गर्ने काम जिल्ला प्रशासनले गर्दै आएको छ’, उनी भन्छन्, ‘कसैले हतियारको दुरुपयोग गरेमा ऊ कानुनको भागीदार हुन्छ । शिकार गर्न जाँदा मान्छेलाई गोली लागेको घटना धेरै छन् । तिनीहरू अहिले पनि सजायँँ काटिरहेका छन् ।’
यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठ हतियारको दुरुपयोग गरे कडाभन्दा कडा कारबाही हुने बताउँछन् । हतियार राख्न इजाजत भए पनि त्यसलाई अवैध कार्यका लागि प्रयोग गर्न नपाइने उनको भनाइ छ ।
‘अहिलेको जमानामा चरा त मार्न पाइँदैन, जथाभावी गाली चलाएर मान्छे मार्यो भने कानुनअनुसार कारबाही भइहाल्छ नि ! ठुल्ठूला व्यक्तिले मसँग बन्दुक छ है भनेर त्रास देखाउनका लागि मात्र राख्ने हो’, उनले भने ।
गृहसँग छैन हतियार लिनेको तथ्यांक ?
मुलुकभर लाइसेन्स भएका हतियारधारी कति होलान् ? यसको तथ्यांक गृह मन्त्रालयसँग छैन। सूचना अधिकारी उमाकान्त अधिकारी जिल्ला–जिल्लामा यसको तथ्यांक रहेको र केन्द्रीय तथ्यांकबारे आफूलाई जानकारी नभएको बताउँछन् । ‘प्रत्येक जिल्लामा यसको तथ्यांक छ । तर, केन्द्रमा के छ भन्ने मलाई थाहा भएन’, उनले भने ।
टिप्पणीहरू