पाँच महिनामा कसरी कमाइन्छ सवा ६ करोड ?

पाँच महिनामा कसरी कमाइन्छ सवा ६ करोड ?

सरकारी सेवा–सुविधा र तलब न्यून रहेको गुनासो गरिरहने सानो तहको कर्मचारीले नै ५ महिनाबीच करोडौंको सम्पत्ति जोड्यो भन्दा धेरैलाई अचम्म लाग्ला । तर, यो सत्य हो । यस्तै अकुत सम्पत्तिमध्येबाट ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ र ४४ पैसा जफत गर्न अख्तियारले विशेष अदालतसँग माग गरेको छ । 

गुल्मीको निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका भीमकान्त भण्डारी छोटो समयमा करोडौंको मालिक बन्ने सरकारी कर्मचारीमध्ये पर्छन् । व्यक्तिले गति छाड्यो भने यहाँ अकुत सम्पत्ति जोड्न धेरै समय लाग्दो रहेनछ भन्ने जल्दोबल्दो उदाहरण हुन्, उनी । 

०७३ सालमा जागिर खाएका उनी ४ वर्ष नपुग्दै जागिर छाडेर ५ महिनाबीच ६ करोड रुपैयाँ बढीको सम्पत्ति जोड्ने एक मात्र सुब्बा हुन् । माओवादी मन्त्रीहरूको पिए बनेर कमाएको रकममा अख्तियारको आँखा लागेपछि जागिर छाडेर कोभिडको महामारीका कारण जनता हाहाकारमा परेको बेला विध म्यानेजमेण्ट खोलेका उनले यसबीच मललगायत अनेक सामान सप्लाइको निहुँमा झण्डै एक अर्ब बढीको सम्पत्ति जोडेको प्रमाण भेटिएको छ ।

अस्वाभाविक रुपमा आर्थिक हैसियत उकास्न सफल सुब्बाउपर २०७८ भदौ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो । गुल्मीको मालिका गाउँपालिका–५ बस्ने बालु भण्डारीका नाति एवं ओमप्रकाशका छोरा भीमकान्तविरुद्धको उजुरी सी००५७७१ नम्बरमा दर्ता भएको छ ।

उक्त उजुरीउपर छानबिन गर्ने जिम्मा अधिकृत कमलप्रसाद मिश्रले पाएका थिए । उनकी श्रीमती विमला पन्थी पनि सार्वजनिक सेवामै छिन् । खरिदार तहमा कार्यरत विमला २०७१ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेको विवरणमा देखिन्छ । ०७३ भदौसम्म उनले आफ्नो पारिश्रमिकबाट दुई लाख ९० हजार ८०३ रुपैयाँ बचत गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

यता, भीमकान्तले भने सार्वजनिक सेवामै रहेको बेला ललितपुरको इकुडोलमा कित्ता नं. ५८ को क्षेत्रफल ३–६–०–० को जग्गा दुई लाखमा खरिद गरेको देखाएका छन् । उनले अधिकांश व्यवसायमा गरेको लगानीको स्रोत नै खुल्दैन । बिध अटोमोबाइल्स प्रालिको शेयर खरिदमा ४० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी, बिध म्यानेजमेण्टमा दुईपटक गरी २५ लाख रुपैयाँ, विभिन्न कम्पनीका साधारण तथा एफपीओ शेयर खरिद गर्दा दुई लाख ४५ हजार ८५० रुपैयाँ गरी ६९ लाख ४८ हजार ४५० रुपैयाँ लगानी तथा खर्च गरेको देखिएको अख्तियारको भनाइ छ ।

तर, त्यसमध्ये ४४ लाख ४० हजार २८ रुपैयाँ ११ पैसाको स्रोत खुल्न नआएको अख्तियारले जनाएको छ । अख्तियारको प्रतिवेदनसँगै भीमकान्तले ‘दुहुनो गाई बनाएको’ विध म्यानेजमेन्टमाथि पनि गम्भीर प्रश्न खडा भएको छ ।

विश्वको हरेक मुलुक कोरोनाले थलिएको बेला बिधले ओम्नी र यतीजस्तै सबैभन्दा धेरै आम्दानी गरेको थियो । पाँच महिनाको अवधिमा बिधले करोडौं बढीको सम्पत्ति जोडेको सरकारी तथ्यांकले स्पष्ट पार्छ । 

उनले महामारीको अवस्थामा समेत राजधानीको मुटुमा तीन करोड रुपैयाँ बढी मूल्यको जग्गा किनेका छन् । ०७८ साउनदेखि पुस मसान्तसम्मको अन्तरालमा टल्कुडुडेचौरमा कित्ता नं. ७४ को क्षेत्रफल ३–०–०–० र कित्ता नं. १२३ को क्षेत्रफल ३–५–०–० को जग्गा खरिद गरेको देखिन्छ । त्यस्तै, सो जग्गादर्ता गर्न १६ लाख ६६ हजार पाँच सय रुपैयाँ लागेको छ । तर, त्यसको समेत स्रोत खुलेको छैन ।

माडी खनिज प्रालिमा लगानी गरेको एक करोड, बिएन डेभलपर्स प्रालिमा रहेको ५२ लाख ५० हजार, बिध म्यानेजमेण्ट प्रालिमा थपेको ७५ लाख, सेवा रेमिट प्रालिमा दुई लाख ७५ हजार रुपैयाँको समेत स्रोत खुल्दैन । उनी र उनकी श्रीमतीको विभिन्न बैंकमा रहेको खातामा ९५ हजार ६९२ रुपैयाँ ५३ रुपैयाँ मौज्दातसहित सबै गरेर भण्डारीले पाँच करोड ८१ लाख १७ हजार १९२ रुपैयाँ ५३ पैसा खर्च तथा लगानी गरेको निश्कर्ष अख्तियारले निकालेको थियो ।

सो रकममध्येमा विमलाको पारिश्रमिक बचत एक लाख ५३ हजार २१४ रुपैयाँ देखिएको उल्लेख गर्दै अख्तियारले भनेको छ, ‘उक्त आय आर्जनबाट खर्च तथा लगानी (व्यय) पाँच करोड ८१ लाख १७ हजार १९२ रुपैयाँ ५३ पैसा घटाउँदा आउने पाँच करोड ७९ लाख ६३ हजार ९७८ रुपैयाँ ३३ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) स्रोत खुलेको देखिएन ।’

भण्डारीले आफ्नो एकल स्वामित्व रहेको बिध म्यानेजमेण्टबाट विभिन्न मितिमा तीन करोड ३९ लाख ७६ हजार ५९ रुपैयाँ २६ पैसा डाइरेक्टर्स लोन लिएको दाबी गरेका छन् । जबकि कम्पनी ऐन, २०६३ को दफा ९९ को उपदफा १ र उपदफा २ तथा सोही ऐनको दफा १०१ को उपदफा १ मा भएको व्यवस्थाअनुसार कम्पनीबाट सञ्चालकले ऋण लिन पाउँदैन ।

यी सबै विषयलाई आधार मान्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग¥यो । सरकारी जागिरमा कार्यरत रहँदा भ्रष्टाचार गरेको रकम लगानी गरी अन्य सम्पत्ति बढाई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । भ्रष्टाचार गरेको ठाडै ठहर हुँदाहुँदै पनि विशेष अदालतले १२ लाख रुपैयाँ धरौटीमा भीमकान्तलाई छोड्यो । हिमालयन होटलमा अफिस सञ्चालन गरेर बसेका उनको साँठगाँठ माथिसम्म भएको स्रोत बताउँछ । 

मल आयातको सरकारी ठेक्कासमेत आफ्नो हिस्सामा पारेका उनले गत वर्ष समयमै मल नल्याइदिँदा कृषकको बिचल्ली भएको थियो । किसान मल नपाएर छट्पटाइरहेको अवस्थामा सम्पर्कविहीन बनेको उनको कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले तीन वर्षका लागि कालोसूचीमा राखेको छ । यता, उनीविरुद्ध दायर भ्रष्टाचार मुद्दाको यही असार ३१ गते विशेष अदालतमा पेशी छ । त्यो पेशी सार्न उनको जोडदार तयारी भइरहेको बुझिन्छ ।

खेतीबालीको सिजनमा मल नल्याएर राष्ट्रघात गर्नेलाई अदालतले कारबाही गर्छ कि चोख्याउँछ ? हेर्न बाँकी छ । आफ्नो पेशी सार्नका लागि उच्च अदालत, पाटनका हाकिमलाई मोटो रकम अफर गर्ने भण्डारीलाई नामी ठेकेदार एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई जसरी सफाइ दिने हो कि भनेर पनि आशंका व्यक्त गर्न थालिएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँञ्चाइ आयोजनामा दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले ०७५ सालमा उनीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

तर, माटोलाई दोषी देखाएर अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले उनलाई सफाइ दिएको हो । पात्लेवन रिसोर्टमा कार्यक्रमको खर्च व्यहोरिदिएबापत धर्तीलाई दोष देखाउँदै राष्ट्रमाथि घात गर्ने पाण्डे जस्तालाई उन्मुक्ति दिने विशेषका श्रीमान्हरूले भण्डारीको अकुत सम्पत्तिबारे केही बोल्लान् ? गम्भीर प्रश्न उठेको छ ।
 

टिप्पणीहरू