मस्त मेयर, अस्तव्यस्त नगर

मस्त मेयर, अस्तव्यस्त नगर

उनी देशका एकमात्र यस्ता मेयर हुन् जसले पत्रकार सल्लाहकार, कानुनी सल्लाहकार, प्रविधि विज्ञ, सूचना प्रविधि विज्ञलगायत झण्डै दर्जनजति नियुक्त गरेका छन् । यति मात्र होइन, नगरकार्यपालिकामा झण्डै दर्जन पत्रकार र तिनका नातागोतालाई ९ तहका कर्मचारीसरहको नियुक्ति दिएर आफू मिडियामैत्री भएको देखाइरहेका छन् । पदभार ग्रहण गर्न नपाउँदै नगर प्रहरी, चालक, माली, कार्यालय सहयोगीलगायत दैनिक ज्यालादारी कर्मचारी नियुक्त गर्ने अधिकार आफूमा प्रत्यायोजन गरेर हुलका हुललाई नियुक्ति दिएका छन् । जसलाई प्रमुख प्रशासकीय स्वयंले स्थानीय ऐनविपरीत भने पनि मेयरलाई बाल मतलब छैन । मुलुककै सबैभन्दा ठूलो लहान नगरपालिकाका तिनै मेयर महेशकुमार चौधरीको मूर्खतापूर्ण हठका अनिगिन्ती किस्सा उल्लेख गरिसाध्य छैन ।

‘हाम्रो लहान – सुन्दर, समुन्नत र सभ्य लहान’ भन्ने नारासहित एक्सनमा उत्रिएका उनले बजार क्षेत्रमा केही थान ट्युबलाइट लस्करै बालेर भद्दा मजाक गरे । उनको त्यो मजाकबापत नगरपालिकाले २० लाख रूपैयाँ भुक्तानी व्यहोर्नुपर्‍यो । ‘मुस्कानसहितको सेवा’ सुरु गरे, उपमेयर रामचलितर महतोसँग मुख हेराहेरसमेत बन्द भयो भने कर्मचारी र उपमेयरबीच कार्यशैलीगत आरोपप्रत्यारोप नै चल्यो । महतोले आफ्ना गल्ती ढाकछोप गर्न मेयरले पत्रकार र तिनका आफन्तलाई राजनीतिक नियुक्ति दिएको भनेर प्रेस–विज्ञप्ति नै जारी गरे भने उपमेयरले घुस खाएको आरोप लगाएपछि नगरका सबै कर्मचारीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर उपमेयरको उक्त आरोपको खण्डन गरे । 

भनिन्छ, कुनै बेला लहानस्थित एपोलो बोर्डिङ स्कूलमा पढाउने मेयर चौधरी हेर्दा सोझा र भलादमी उनले गठबन्धनबाट जितेका सहयोद्वा उपमेयर महतोमाथि बलात्कार काण्ड घटाएको चर्चा पनि ताजै छ । तर बलात्कार आरोप सामना गरेर पुनः सक्रिय बनेका उपमेयरलाई बहुमतको डण्डा चलाएर निषेध गर्न खोजे ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले संयुक्त घोषणापत्र अघि सारेर स्थानीय चुनाव लडेका थिए । चुनावमा आफू गठवन्धनको भोटले जित्ने लगभग सुनिश्चित भइसकेपछि कांग्रेसबाट उठेका चौधरीले भित्रभित्रै गठबन्धनको प्रतिबद्वताबिपरीत एमालेबाट उपमेयरमा उठेकी रामसरियार चौधरी र एकीकृत समाजवादीकी कञ्चन चौधरीसँग साँठगाँठ गरे । महिलालाई उपमेयर जिताए आफूअनुकूल नगरपालिका चलाउन सजिलो हुने उनको निश्कर्ष थियो । त्यसैले जसपा उम्मेदवार महतोको पक्षमा मत नै नमागेको भनेर आलोचना भएको थियो । ७ सय चानचुन मतान्तरबाट महतोले जित्दा मेयर चौधरीले ६ हजार बढि मतान्तर राखे भने २४ मध्ये १५ वडामा कांग्रेसले जितेको थियो ।

आर्थिक वर्ष घर्किनै लाग्दा देशभरका स्थानीय तहमा आर्थिक निकासाको चटारो बढिरहेका बेला लहान नगरपालिकाले पनि मौकामा चौका हान्दै विभिन्न किर्ते विकास निर्माण, परामर्शलगायत शीर्षकमा धमाधम भुक्तानी दिइरहेको प्रमाण बाहिरिएको छ ।

कार्यपालिका कार्यालय लहान परिसर सौन्दर्यकरण शीर्षकअन्तर्गत प्रदेश सरकारको समपूरक बजेट २० लाख रूपैयाँ कामै नभए पनि निकासा दिएको लहान नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू निर्माण शीर्षकमा १ करोड २२ लाख रूपैयाँ विनियोेजित रकम निकासा दिइसकेको लेखा शाखा स्रोतले जानकारी दिएको छ । 

त्यस्तै लहान–५ स्थित हाटबजार सुधार डिपिआर निर्माणका लागि ५ लाख, लहान बजारस्थित दुर्गा मन्दिर डिपिआरका लागि ४ लाख, लहान–४ स्थित वृद्वाश्रम तथा अनाथालय डिपिआर निर्माण शीर्षकमा ५ लाख, विपन्न वर्ग बसोवास व्यवस्था डिपिआरका नाममा ५ लाख र पुनः कार्यपालिका कार्यालय परिसर सौन्दर्यकरण डिपिआर शीर्षकमा ५ लाख रूपैयाँ निकासा दिइएको छ ।

कामै नगरी सडक सुधार शीर्षकमा करोडौँ निकासा गरेको छ । जस्तो, भगवानपुर सडक सुधार कार्य शीर्षकमा ७० लाख । जुन सडकखण्ड सडक डिभिजन कार्यालयले प्रत्यक्ष स्तरोन्नति गर्दै आएको छर्लंग छ । त्यस्तै यस नगरपालिकाले जहदी गमहरिया सडकको नाममा ३० लाख रूपैयाँ, वासाजोडी–हात्तिदह सडकमा ५० लाख रूपैयाँ, लोकमार्ग – सन्न्यासी सडकको नाममा ५० लाख रूपैयाँ, सिंगराही सडकका नाममा ७० लाख रूपैयाँ, छरापट्टी सडकका नाममा ५० लाख रूपैयाँ, घले टोल र सरस्वती टोल सडकका नाममा १० लाख रूपैयाँ निकासा दिएको देखिएको छ ।

उता, लहान क्याम्पस शिव चौक सडकका नाममा १ करोड रूपैयाँ, सर्रे खोला सडकका नाममा १ करोड रूपैयाँ तथा तटवन्ध तथा बाँध निर्माणका नाममा ४० लाखा निकासा दिइएको छ । मधेशमा एउटै सडक सुधार र पुनर्निर्माणका नाममा प्रत्येक आर्थिक वर्षमा करोडौँ निकासा गर्ने परिपाटी पुरानै हो । लहानभित्र डिपिआरका नाममा व्यापक निकासा हुँदै आएको छ । ज्वलन्त उदाहरण यस्ता छन्– पुरानो खुट्टी नहर डिपिआर ११ लाख रूपैयाँ, कार्यापालिका कार्यालय उपकरण तथा सवारी साधन ग्यारेज निर्माण सुधार डिपिआरमा ५ लाख रूपैयाँ ।

यिनै नगरपिताले करार सेवाका कर्मचारीलाई चालु वर्षको वैशाखसम्म झण्डै डेढ करोड तलबभत्ता वितरण गरे । चालु वर्षको वैशाखसम्म करार सेवा शुल्क १ करोड ४० लाख ५६ हजार ८ सय ६६ रूपैयाँ वितरण गरेको उल्लेख छ भने २०७९÷२०८० मा त झन् १ करोड ५० लाख रूपैयाँ विनियोेजन गरिएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म पत्रपत्रिका छपाई तथा सूचना प्रकाशनमा ५२ लाख ६० हजार ४ सय ९५ रूपैयाँ खर्च गरेको लहान नगरपालिकाले यस आर्थिक वर्ष भने १ करोड ५० लाख वितरण गरेर नयाँ रेकर्ड ब्रेक गरेको छ । मेयरकी मृतक कान्छी श्रीमती संगीताको नाममा खोलिएको संगीता कर्माचार्य अनाथ तथा वृद्धाश्रमको नाममा १ करोड र संगीता कर्माचार्य दलित उत्कृष्ट छात्रवृत्ति कार्यक्रमका नाममा २० लाख रूपैयाँ छुट्याएर कार्यक्रमै नगरी हिनामिना गरेको चर्चा पनि छ ।

त्यस्तै, मेयर चौधरीले स्वास्थ्यसम्बन्धी कार्यक्रम शीर्षकमा १ करोड ६० लाख, कृषिसम्बन्धी कार्यक्रमका नाममा १ करोड २५ लाख रूपैयाँ झ्वाम पारेको आरोप लागेको छ । नगरपालिकाले २४ वटै वडाका १ देखि ५ कक्षा सम्मका दलित विद्यार्थीलाई ट्युसन पढाउन भनेर छुट्याएको ५० लाख ट्युसनै नपढाई निकासा भएको छ । 

– सन्तोष बराइली

टिप्पणीहरू