चन्दाका नाममा विश्वविद्यालयका धन्दा

चन्दाका नाममा विश्वविद्यालयका धन्दा

पोखरा विश्वविद्यालय उधारो सम्बन्धन बेचेर पैसा थुपार्छ, एक दशकसम्म सम्बन्धन नदिएर पैसा फिर्ता गर्छ । सेवाग्राहीसँग लिएको पैसाको ब्याजले दोब्बर ब्याज कमाउन खप्पिस भइसकेको छ । यसरी देशको प्रधानमन्त्री नै कूलपति हुने विश्वविद्यालयबाट सेवाग्राही बनाइएका नागरिक कहिलेसम्म सास्ती पाउने ?

०६९ सालमा प्राविधिक शैक्षिक कार्यक्रम लगायतको सम्बन्धन दिन भन्दै मोटो रकम लिएर आवेदन दर्ता गरियो । तर, १० वर्षपछि रित्तो हात फर्काइएको तथ्य उजागर भइसकेको छ । आम जनताको गुनासोका पुलिन्दा खोल्दै जाँदा २०७९ असोजमा पनि ६ लाख र ४ लाख रूपैयाँ लिएर सम्बन्धन दिने आवेदन दर्ता गराएका छन् । ती आवेदकले सम्बन्धन कहिले पाउने हुन् ? कुनै निश्चित छैन । आवेदकहरू भन्छन्, ‘पहिलाजस्तै १० वर्षसम्म ब्याज खाएर सावा फिर्ता गर्न पनि सक्छन् ।’ प्राज्ञिक क्षेत्रमा हुने र भइरहेका यस्ता कार्यशैलीले के सन्देश देला ? 

केन्द्रीय कार्यालय रहेको लेखनाथ खुदीमा ४ तले भीमकाय भवन बनिरहेको देखिन्छ । अस्पताल भवनको पूर्वतर्फ विश्वविद्यालयकै जग्गामा बनिरहेको यो भवन चन्दा उठाएर बनाइरहेको बुझिन आएको छ । सम्बन्धन पाइसकेका कलेजको संस्था ओपनले कलेज सञ्चालकबाट चन्दा उठाएर पोखरा विश्वविद्यालयका लागि उक्त भवन उपहारस्वरूप दिन लागेको स्रोतले दाबी गरेको छ । सम्बन्धन दिएका ५७ वटा कलेज छन् । ती कलेजलाई थप कार्यक्रम, दिने योजना छ । गत भदौमा प्रकाशन गरेको विज्ञापनमा पुराना कलेजलाई २ वटा कार्यक्रम थप गर्ने उल्लेख छ । 

सो विश्वविद्यालय आफैंमा एक नियामक निकाय हो । आफूले सम्बन्धन दिएका कलेजलाई अनुगमन, नियमन र कारबाही गर्ने अधिकार आफैंमा रहन्छ । तर, सम्बन्धनप्राप्त कलेजसँग स्वार्थ बाझिने काम भइरहेको छ । आफ्नो परिसरमा सम्बन्धन प्राप्त कलेजको संस्था ओपनलाई घर बनाउन जग्गा उपलब्ध गराउने कार्यले स्वार्थ बाझिने काम भएको हो । विश्वविद्यालयजस्तो प्राज्ञिक संस्था जसको नेतृत्वमा (कुलपति) प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहेका हुन्छन् । त्यस्तो गरिमामय प्राज्ञिक प्रतिष्ठानमा निजी कलेजहरूको चन्दा सहयोगबाट भवन बनाउन अनुमति दिने कार्य कति कानुनसम्मत हुन्छ त्यो भने छानबिनको विषय बनेको छ ।

– यदुनाथ बन्जारा
 

टिप्पणीहरू