भारतीय फादरलाई नेपाली नागरिकता भसक्कै
बाँकेको कोहलपुर नगरपालिका–१०, रामनगरस्थित ‘जीवनज्योति स्कूल’ का प्रिन्सिपल हुन्, जोमन जेम्स । भारतको केरलामा जन्मिएका उनले उक्त विद्यालय सञ्चालन गरेको झण्डै दशक हुन लागिसकेको छ । नेपाली नागरिकता लिएको खुलेको छ ।
२०६३ सालमा जन्मसिद्धका आधारमा ६६३०१३ नम्बरको नागरिकता लिएका उनलाई टोली प्रमुख सन्तबहादुर सुनारले माघ २२ गते नागरिकता जारी गरिदिएको देखिन्छ । आफूलाई कोहलपुर–६ स्थायी बासिन्दा भन्दै उनले सोही ठाउँका बालकिसुन थारु, जलारु थारु र अर्को एक जनालाई साक्षी राखेर सर्जिमन गराएका हुन् । नागरिकतामा उनले उल्लेख गरेको बाजे र बुवाको नामसमेत नक्कली रहेको स्थानीयको आरोप छ ।
थोमन जेम्सका नाति र एमो छोरा भनेर टिपाइएको विवरण झुठ्ठो भएको भन्दै प्रहरीमा उजुरीसमेत परेको थियो । तैपनि, उनलाई कारबाही गरिएको छैन । उनले आफू भारतीय नागरिक हुँ भनेर युट्युबमा अन्तर्वार्ता नै दिएका छन् । गणतन्त्र आउनासाथ ०६३ सालमा नागरिकता बाँड्ने टोली गाउँ–गाउँ परिचालन हुँदा त्यो लिन मानिसको ताँती लागेको थियो । उनले पनि त्यही मौकाको फाइदा उठाएका हुन् । सन् १९७६ मा भारतमा जन्मिएका उनले आफूलाई नेपाली बनाउन बेर लगाएनन् ।
गोर्खामा केही वर्ष पढाएर भारत फर्किएका उनले पुनः नेपाल आएर नागरिकता लिएको स्रोतले बतायो । उनले २०७९ असार १० गते प्रतिलिपि निकालेका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख प्रशासकीय अधिकृत खड्कप्रसाद उपाध्यायले ६६३०४१ नम्बरको नागरिकताको प्रतिलिपि जारी गरिदिएका हुन् । समाजसेवी भावनाले नेपाल आएको बताउने उनले जन्मसिद्धका आधारमा नेपाली नागरिकता लिनु र कारबाही नगरिनुको पछाडि ठूलै चलखेल भएको स्रोतको आशंका छ ।
किर्ते गरेर नागरिकता लिएको आरोपमा उनी २०७९ फागुन २२ गते पक्राउ परेका थिए । प्रहरी कार्यालयबाट कारबाही हुने नदेखेपछि निवेदकले सम्पूर्ण कागजातसहित महानिरीक्षकको सचिवालयमा निवेदनसमेत हाल्न पुगे ।
तत्कालीन महानिरीक्षक धिरजप्रताप सिंंहको निर्देशनमा उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लियो । यद्यपि, हिरासतमा बसेको एकदिनपछि नै उनी मुटुको बिरामी भएको बहानामा नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा भर्ना भए । हाल उनको नागरिकतासम्बन्धी मुद्दा बाँके जिल्ला अदालतमा चलिरहेको छ ।
टिप्पणीहरू