नेपालीका सामु विदेशीको बाझाबाझ

नेपालीका सामु विदेशीको बाझाबाझ

नेपालजस्तो अल्पविकसित मुलुकलाई हामीले मिलेनियम च्यालेन्ञ्ज कर्पाेरेसन (एमसीसी)मार्फत सहयोग गरेका छौं भन्दै अमेरिकी प्रतिनिधिहरूले गत शनिबार संयुक्त राष्ट्रसंघीय दिगो विकासका लक्ष्यसम्बन्धी कार्यक्रमको बैठकमा दुई दुई पटक नेपालको नाम लिएका छन् । ती अमेरिकी प्रतिनिधिले नेपाललाई क्लिन इनर्जी र पूर्वाधार विकासमा सहयोग पुर्‍याएको दाबीसमेत गरे ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को अध्यक्षको हैसियतमा नेपालले कार्यक्रम सञ्चालन गरिरहेको छ । १० दिनसम्म चल्ने सो कार्यक्रममा नेपालबाट संसदीय समिति, सरकारी समिति र गैरसरकारी क्षेत्रबाट दर्जनौँले भाग लिइरहेका छन् । दिगो विकास लक्ष्य संसदीय समितिका संयोजक प्रकाश पन्तको नेतृत्वमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र एमाले सचेतक महेश बर्तौला त्यहाँ देखिएका छन् भने गैरसरकारी संस्थाका प्रतिनिधिलाई अमेरिकाको निम्ति पूर्वराजदूत डा. अर्जुन कार्कीले समन्वय गरेका छन् । 

दिगो विकासका लक्ष्यअन्तर्गत १७ शीर्षकमध्ये नेपालले १६ बुँदामा हुने छलफलमा सहभागिता जनाएको छ । सबै क्षेत्रमा रहेका गरिबी अन्त्य गर्ने, भोकमरी अन्त्य, स्वस्थ र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुँच, मर्यादित रोजगार तथा आर्थिक वृद्धि, उद्योग पूर्वाधारमा नवीन सिर्जना, असमानता न्यूनीकरण, दिगो शहर र समुदाय, जिम्मेवारीपूर्ण उपभोग तथा उत्पादन, जलवायु परिवर्तनमा तत्काल पहल, जलमुनि र माथिका जैविक विविधताको संरक्षण, शान्ति, न्याय र सशक्त निकाय तथा लक्ष्य प्राप्तिका लागि साझेदारी शीर्षकमा छलफल चलिरहेको छ ।

राष्ट्रसंघले सेप्टेम्बर २५, २०१५ का दिनदेखि २०३० सम्म दिगो विकासका लक्ष्यको रूपमा यी १७ एजेण्डा घोषित गरी लागू गरेको थियो । यी लक्ष्य एकअर्कासँग सम्बन्धित र अन्तर्निहित विषयवस्तु भएको र कार्यान्वयन भएको ७ वर्ष बितिसकेकाले मध्यावधि मूल्यांकन गर्न लागिएको हो । मूल्यांकनका निम्ति सामाजिक, आर्थिक र वातारणीय विषयगत समूह खडा गरी छलफल गराइएको छ । र, यी सबै विषय छलफलको संयोजनकारी भूमिकामा नेपालबाट गएका प्रतिनिधिहरू सक्रिय देखिन्छन् । यो छलफलले आउँदो सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आउने राष्ट्र प्रमुखहरूका लागि एजेण्डा सेटिङ गर्ने बताइन्छ ।

ती छलफलमा रसिया र युक्रेनका प्रतिनिधिले जारी युद्धका निम्ति एक अर्कामाथि खुलेर दोषारोपण गरेका छन् भने चीनले जापानलाई समुद्रमा विकिरणयुक्त फोहोर फालेर जलीय जीव र मानव अस्तित्वलाई संकटमा पुर्‍याएको गम्भीर आरोप लगाएको छ । जापानले आफ्ना न्युक्लियर रियक्टरबाट निस्केका फोहोर समुद्रमा विसर्जन गर्न लागेको समाचार बाहिरिएपछि संसारभरबाटै उसको चर्को आलोचना हुँदै आएको छ । 

टिप्पणीहरू