भुटानी प्रकरण अझै तन्किँदै

भुटानी प्रकरण अझै तन्किँदै

एउटा घटना तत्काललाई सामसुम भएजस्तो देखिए पनि वर्षे भेलझैं फेरि कसुरदारहरूको वर्षा लाग्ने सम्भावना उत्तिकै जीवित छ । 

नक्कली भुटानी शरणार्थी बनाउने र मानव तस्करी चलाउने गिरोहका मुख्य–मुख्य व्यक्तिलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । तर, उक्त प्रकरणमा पीडितको संख्या जति हो, त्यसको एक तिहाई पनि जाहेरी परेको छैन । अर्थात्, पीडित थुप्रै भए पनि प्रहरीसमक्ष जाने थोरै मात्र छन् । त्यसैले अहिले पनि काठमाडौं प्रहरी परिसर जाहेरवाला थपिएको अवस्थामा केही व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने गरी तम्तयारी हालतमा बसेको छ । किनभने, उक्त प्रकरणमा दाङ जिल्ला र आसपासका बासिन्दा बढी पीडित छन् । तीमध्ये कतिपयले सानो रकम भनेर वा केहीले शक्तिकेन्द्रविरुद्ध जुधेर पार लाग्दैन भन्ठानी ठगीको पीडालाई गुम्साइरहेका छन् । मानौं, जाहेरवाला थपिएनन् । त्यो अवस्थामा पनि उक्त प्रकरणभित्र लुकेका केही कुरा भए बाहिर आउने सम्भावना छ ।

पक्राउ परेकैमध्येबाट वा जाहेरी दरखास्त दिएकामध्येबाट उक्त प्रकरणसँग सम्बन्धित थप विवरण आएमा त्यससँग सम्बन्धित व्यक्ति पहिचान हुनसक्ने अवस्था उत्तिकै विद्यमान छ । किनभने, कतिपयले बयानका क्रममा माथिल्लो ओहोदाका मानिसको डर, त्रासका कारण भन्नुपर्ने थुप्रै कुरा भनेका छैनन् वा जाहेरीमा कतिपय कुरा उल्लेख गरेका छैनन् भन्ने अनुमान छ । जसरी कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु र पूर्वमन्त्री बालकृष्ण खाँणपत्नीको संलग्नताबारे बाहिर चर्चा भइरहेका छन्, ती कुराको प्रमाण लाग्ने तथ्य फेला नपरेको मात्रै हो ।

यसमा उनीहरूको शून्यसंलग्नता भन्ने त हुँदै होइन । आरजुको अडियो सार्वजनिक भयो । त्यसमा पुरुष आवाज सन्देश शर्माको भन्ने कुरा पनि प्रमाणित छ । तर, ‘आरजु’ विरुद्ध किटानी जाहेरी नपरेको हुँदा उनी अनुसन्धानको दायरामा आएकी छैनन् । यस्तै–यस्तै तथ्य प्रमाणित भएको अवस्थामा उनी वा उनीजस्ता अनुसन्धानको दायरामा नपुगेका व्यक्ति पनि मुछिन सक्ने एक सरकारी वकिल बताउँछन् ।

त्यसमाथि कतिपय कसुरदारको वतन खुलेको छैन । कसैले तिनको वतन खुलाइदिए त्यहाँबाट पनि अनुसन्धान अगाडि बढ्न सक्ने अवस्था छ । अर्कातिर, फरार भएकाहरूलाई ढिलो–चाँडो अदालतमा बुझाउनै पर्छ । हालसम्म एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) का छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका केही व्यक्ति फरार छन् । प्रहरीले फरारमध्येकै केशव तुलाधरलाई पक्राउ गर्‍याे । उनी यो प्रकरणमा १५ लाख धरौटी तिरेर तारेखमा छुटे । असार २८ मा फेरि बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणमा पक्राउ परेका छन् ।

यसरी फरार अभियुक्तहरू पक्राउ परेपछि अरुका हकमा जे–जे भयो, उनीहरूका हकमा पनि त्यही–त्यही हुने हो । तर, फरार भनिएकाहरू उक्त प्रकरणका प्रमुख कसुरदार हैनन् । कसैले आफ्नो खाता प्रयोग गरे, कसैले आएका रकमको व्यवस्थापन गरिदिएका हुन् । मुख्य मान्छेहरूले आफू जोगिनका निम्ति सीधै लेनदेन नगर्दा सानातिना मानिसहरू यसमा मुछिए । मुख्यतः त्यो काम गर्ने, पैसा चलाउने भनेका अहिले पक्राउ पर्नेहरू नै हुन् ।

टिप्पणीहरू