मन्त्राणीको टिकट कसले काट्छ महोदय ?

मन्त्राणीको टिकट कसले काट्छ महोदय ?

मन्त्रीलाई पत्नीको माया लाग्दा त्यसको मूल्य मन्त्रालयले व्यहोर्नुपर्ने प्रावधान कुनै नियम–कानुनमा छैन । यसरी मन्त्रीको भन्दा मन्त्राणीको हप्कीदप्की चर्को हुँदा अहिले परराष्ट्र मन्त्रालयको आलेप शाखा तनावमा छ ।

मन्त्री एनपी साउद गत असार २१ गते असंलग्न राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकु र वैशाख २८ मा छैठौं इण्डियन ओसन कन्फरेन्स २०२३ मा भाग लिन बंगलादेशको राजधानी ढाका जाँदा पत्नी ज्योत्सनालाई पनि साथै लगे । निम्तो गर्ने राष्ट्र र आयोजकले मन्त्रीलाई मात्रै बोलाएका थिए । मन्त्रिपरिषद्ले पनि भ्रमण खर्च स्वीकृत गर्दा पत्नीको प्रसंग थिएन । त्यसैले बिनास्वीकृतिको भ्रमणका क्रममा जहाज भाडाबापत लाग्ने रकम मन्त्रालयले भुक्तानी दिन मिल्दैन । नियम यस्तो छ, तर मन्त्राणीको भनाइ छ, ‘जसरी पनि मिलाउनुस् !’ नियम–कानुनमा यस्तो ‘जसरी पनि...’ भन्ने कुनै बुँदा हुँदैन । त्यसअघि वैशाख २१ मा बेलायतका राजा चाल्र्स तृतीय र महारानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी हुन जाँदा उक्त भ्रमण सपरिवार स्वीकृत भएको कारण त्यसको भुक्तानीमा कुनै समस्या भएन । तर, परिवार लैजाने कुरा न निमन्त्रणामा, न त निर्णयमा, केहीमा नहुँदा मन्त्रालयको आर्थिक लेखा प्रशासन (आलेप) शाखा तनावमा परेको हो ।

अर्को तनाव छ, कन्सुलर सेवा र राहदानी विभागमा पुरानो करारका कर्मचारी निकाल्दै मन्त्राणीद्वारा सिफारिस व्यक्तिहरू नियुक्त नगरी नहुने । विशेषतः कम्प्युटर अपरेटर र कार्यालय सहयोगीलाई करारमा हाल्न भनेर कञ्चनपुरका १२/१३ जनाको नाम दुईतिर पठाइएको छ । चीनस्थित दूतावासको डिसिएममा सरुवा भएर पनि पत्र नदिइएका महानिर्देशक सुरेन्द्र यादव र कन्सुलरतिरका प्रकाशमणि पौडेल यस्तो जबरजस्तीलाई मान्न तयार छैनन् । नमान्दा पनि सुख छैन । त्यसअघि मन्त्राणीकै जोडबलमा हालिएका दुईजना करारका कर्मचारी काम गर्न नसकेर भाग्दै हिँडेका छन् । राहदानी विभाग त्यसै पनि सेवाग्राहीको चाप हुने ठाउँ हो । त्यहाँ काम गर्ने एउटा कम्प्युटर अपरेटरले एक दिनमा दुई सय मानिसको विवरण इनरोल गर्नुपर्छ । कम्प्युटरको पनि प्राविधिक र प्राविधिकमा निपूर्णता नभएको मानिसले त्यहाँ काम गर्न सम्भव छैन । तर, मन्त्राणीले कम्प्युटरको सामान्य ज्ञान भएका मानिसहरूको नाम दिँदै ‘जसरी पनि गर्नु’ भन्दा महानिर्देशक आजित छन् । यही हैरानीले गर्दा जर्मनीमा काउन्सिलर चलाएर फर्किएका उनी बढुवापछिको पहिलो पोष्टिङका रूपमा चीन गइहाल्न पाए हुन्थ्यो भन्दै सचिव भरत पौडेलसँग कराइरहेका छन् । 

अर्कातिर, कांग्रेसको ‘कोटा’ भन्दै ‘क’ स्तरको पोष्टिङबाट फेरि ‘क’ मै जानका निम्ति केही उपसचिवको दौडधुप जारी छ । डेनमार्कबाट फर्किएर लगत्तै क्यानाडा गएका प्रकाश अधिकारी अहिले त्यही स्तरको मुलुक जाने दौडधुपमा छन् । अहिलेका अर्थमन्त्री डा.प्रकाशशरण महत पहिला परराष्ट्रमन्त्री हुँदा उनको पिए बसेको फाइदा उठाउँदै उनले ‘क’ बाट ‘क’ मै पाएका थिए । ‘क’ कै लागि अहिलेका मन्त्री साउदका पिए हरि ओडारी पनि आशावादी छन् । यसबाहेक दधिराम भण्डारी, द्रौपदा सापकोटा, डा.डम्बरुबल्लभ पौडेल ‘क’ पोष्टिङका प्रमुख दावेदार हुन् । उनीहरूका लागि बोलिदिने मान्छे छैनन् । न्यूयोर्कबाट आएकी मुदिता बज्राचार्य, शिवानी बस्नेत, पाकिस्तानबाट फर्किएका पारस पण्डितको यही साउनभरिमा पोष्टिङ भइसक्नुपर्ने हो । पैसा हेर्ने मन्त्राणीले मन्त्रालयमा आतंक मच्चाएको बेला पैसा खेलाउने मेसो नपाएका निरीह उपसचिवहरू अहिले एकापसमा हेराहेर गर्दै बसिरहेका छन् । मन्त्रालय नै कस्तो छ भने, एकाखाले सहसचिवहरू सधैं राम्रोबाट राम्रैमा पर्ने । जस्तो, रामप्रसाद सुवेदी, दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री), लोकबहादुर क्षेत्री । त्यसमाथि अहिले वामपन्थी पृष्ठभूमि हेर्र्दै सानो दर्जाका कर्मचारी हटाउने काम शुरु भएको छ । 
 

टिप्पणीहरू