संगीतकार सुरेश अधिकारीले मागे माफी
संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले रोयल्टीको विषयलाई लिएर रेडियो प्रसारकहरुसँग माफी मागेका छन् । उनले सामाजिक सञ्जाल मार्फत् लिखित माफी मागेका हुन् ।
गत साउन १ गते अधिकारीले आफ्नो फेसबुकमा बिना रोयल्टी स्रष्टाको सम्पत्तिमा लुटतन्त्र मच्चाएको भन्दै एफएम रेडियोविरुद्ध शाब्दिक आक्रमणसहित असन्तृष्टि पोखेका थिए ।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेडियोसम्बद्ध तीन छाता संगठन रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीका सम्पूर्ण सांगीतिक कृति प्रसारण नगर्ने घोषणा गरेका थिए ।
साथै, उनीहरुले गीत, संगीतका स्रष्टाका लागि आफूहरुले बुझाउने गरेको रोयल्टी वितरणको पारदर्शिता देखाउन समेत माग गरेका थिए । विवाद चर्किंदै गर्दा आज फेसबुकमा पुनः स्टाटस लेख्दै अधिकारीले क्षमायाचना गरेका हुन् ।
उनले लेखेका छन्, ‘आफ्नो पेशागत हकहितको लागि संगठित भएर क्रियाशील रहनुभएका उहाँहरुप्रति व्यक्तिगत रुपमा मेरो सदैव सम्मान, आदर छ र रहिरहनेछ । यदि आवेगवश व्यक्ति रुपमा प्रस्तुत मेरो शैली र मबाट व्यक्त भएका शब्दहरुले कोही कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म सम्बन्धित सबैमा विनम्रतापूर्वम क्षमायाचना गर्दछु ।’
अधिकारीले आफूले कोही कसै व्यक्ति वा संस्थालाई तोकेर आरोप लाञ्छना नलगाएको उल्लेख गर्दै रेडियो, टेलिभिजन र स्रष्टाकलाकारको अन्योन्याश्रित सम्बन्ध सुधार गरी एक अर्काको गरिमामय भूमिकालाई राज्यमा स्थापित गर्नका लागि सहकार्य गर्न सदैव तत्पर रहेको पनि जनाएका छन् ।
टिप्पणीहरू