गम्भीर र इमान्दारितापूर्ण आत्मसमीक्षा गर्ने कि !

गम्भीर र इमान्दारितापूर्ण आत्मसमीक्षा गर्ने कि !

एमाले, माओवादी, एकीकृत समाजवादीलगायत कम्युनिष्ट दलहरूले आफ्नै नीति, बोली, व्यवहार र कार्यक्रमप्रति निर्मम समीक्षा नगर्ने हो भने जनताबाट झन् टाढिएर जाने अवस्था देखिएको छ । यसले कम्युनिष्ट पार्टीहरूको अस्तित्व र उपस्थितिलाई धुलो चाट्ने अवस्थामा पुर्‍याउने देखिन्छ ।

कम्युनिष्टमध्ये सबैभन्दा बलियो र ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ग्रासरुट मिसनलगायत अनेकन कार्यक्रम ल्याए पनि संगठनको मजबुतीकरण सोचेजस्तो ढंगले हुन नसकेको अवस्था छ भने सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण पनि सन्तोषजनक देखिएन । 

कम्युनिष्टहरूमा पटक–पटक देखिने दलफोरुवा प्रवृत्ति, नेताहरूमा देखिने देवत्वकरण वा एकल नेतृत्वको भोक र स्वार्थगत गुटबन्दीले गर्दा ती दल वैचारिक रूपमा स्खलित र कार्यगत रूपमा कमजोर बनेका छन् । यसैले नयाँ दलप्रति आकर्षण बढ्दो छ । तर, यी कुरालाई नेपालका वामपन्थी दल र तिनका नेतृत्व स्वीकार गर्नुभन्दा लुकाउनतर्फ केन्द्रित छन्, आफैंले आफैंलाई ढाँट्न उद्यत छन् । 

मुलुकभित्र नयाँ रोजगारीको अवस्था सिर्जना गर्न नसक्नु, लाखौं युवा वैदेशिक रोजगारमा जान बाध्य हुनु, चरम रूपमा आर्थिक अनियमितता बढ्नु र वैदेशिक रोजगारमा जानेहरूको कमाइमा गरिने अनेकन किसिमका शोषण बन्द गर्न नसक्दा युवामा वितृष्णा पैदा भएको छ । तर, नयाँ दलहरू भने यी विषयलाई सही तवरले संबोधन नगरे पनि भजाउने कलामा पुराना दलभन्दा निकै माहिर देखिएका छन् । नयाँ दलसँग स्पष्ट वैचारिक दृष्टिकोण छैन, सिद्धान्त, मूल्य र मान्यता छैन । तैपनि पुरानाप्रतिको वितृष्णाकै कारण युवा नयाँ दलप्रति आकर्षित हुँदै छन् । 

नयाँ दलप्रतिको आकर्षण र पार्टीभित्र मौलाएको गुटबन्दीका कारण कम्युनिष्ट पार्टीहरूसामु दलिएर बस्नुपर्ने अवस्था छ । यस्तो बेला निर्मम तवरले सिद्धान्त र नीति, योजना तथा कार्यक्रमका साथै नैतिक आचरणदेखि व्यवहारसम्म सबै विषयमा निर्ममसमीक्षा गर्न आवश्यक भए पनि ठूला दलहरू वास्तविक कमजोरीलाई अझै पनि लुकाउने पक्षमा देखिन्छन् । ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन कम्युनिष्टहरूको एकल नेतृत्व र सहभागिताले मात्रै सम्भव भएको होइन । दलाल पूँजिपतिहरूको समेत त्यसमा सहभागिता थियो ।

त्यो आन्दोलनले मुलुकलाई जुन दिशातर्फ अघि लैजानुपथ्र्यो, त्यो काम हुन सकेन । लाखौं युवा रोजगारको खोजीमा विदेशिन बाध्य बने । जनतामा असन्तुष्टि बढ्यो । अहिलेका नयाँ दलसँग नयाँ दृष्टिकोण तथा कार्यक्रम नभए पनि, समाज परिवर्तन गर्ने दर्शन, आदर्श र मूल्यमान्यता स्पष्ट नभए पनि युवाले आकर्षण देखाएर पुराना दलका निम्ति ‘वेकअप कल’ दिएका छन् । यो वेकअप कलबाट तर्सिने, झस्किने होइन, यसलाई पाठका रूपमा लिई युवालाई पार्टीतिर आकर्षित गर्न तयार हुनुपर्छ । लिडरसीप युवालाई दिनको निम्ति अहिलेको नेतृत्वपंक्ति तयार हुनुपर्छ ।

नेतृत्व हस्तान्तरण भनौँ कि पुस्तान्तरणका लागि वामपन्थी नेताहरूले आपूmलाई तयार राख्न सक्नुपर्छ । अहिलेलाई वामपन्थी दलको केन्द्रीय नेतृत्वभित्र कम्तीमा ४० प्रतिशत युवा र ६० प्रतिशत पुराना बूढापाका अनुभवीको समिश्रण हुुनुपर्छ । २०६२/६३ सालको जनक्रान्ति पुँजीवादी जनवादी क्रान्ति नै भएकाले त्यसका उपलब्धि रक्षाका लागि पनि नेतृत्वले संवेदनशील हुन आवश्यक छ किनभने अहिले प्रतिगामी र पुरुत्थानवादी शक्ति पनि जागेर आएको अवस्था छ ।

निर्वाचन प्रणालीमा भएका कमीकमजोरीको कारण सधैँभरि हङ पार्लियामेन्ट बन्ने र संसदमा अनेकौं किसिमका दलको उपस्थिति हुने देखिन्छ । यसले संसदमा वामपन्थी दलको मात्र नभई कसैको पक्षमा एकल बहुमत पुग्दैन । नयाँ दल कस्ता हुन् भन्ने कुराको पनि राम्रोसँग छिनोफानो गर्नुपर्ने बेला आएको छ । यी सबै अवस्थालाई चिर्दै वामपन्थीले आफ्नो भूमिकालाई जनतामाझ अझ स्थापित गर्दै लैजानुपर्ने अवस्था छ । यदि, कम्युनिष्टले यी कुरामा ध्यान दिएनन् भने ०८४ सालको निर्वाचन निकै प्रत्युत्पादक हुने देखिन्छ । 

टिप्पणीहरू