किन झ्यापझ्याप बत्ती जाँदैछ

किन झ्यापझ्याप बत्ती जाँदैछ
सुन्नुहोस्

गाउँ–गाउँमा बिजुलीको पहुँच पुर्‍याउन लघु जलविद्युत् आयोजनाको निकै महत्वपूर्ण भूमिका छ । तर सरकारको बेवास्ताका कारण त्यो क्षेत्र सहकारीहरुको हालतमा पुग्दैछ । 

नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रशारण लाइनमा नजोड्दा घरघरमा बत्ती पु¥याउने काम यिनैले गरेका थिए । आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न पटक–पटक आग्रह गर्दासमेत सरकारले सुनुवाइ नगरेको उत्पादकहरूको आरोप छ । 

अर्बौंको लगानी जोखिममा 

मुलुकमा झण्डै चार हजार लघु जलविद्युत् आयोजना छन् । एउटा आयोजनामा लगानीकर्ताले सामान्यया पनि एक करोड रूपैयाँसम्म लगानी गरेका छन् । एउटा आयोजनामा दुई जना अपरेटरसहित तीनदेखि चार जना कर्मचारी छन् । त्यस्तै, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, स्थानीय सरकारलगायत विभिन्न निकायले गरेको सहयोगसमेत खेर जाने भएको छ । यता, दुर्गम जिल्लाका बासिन्दा सस्तो मूल्यमा पाइरहेको बिजुलीको सुविधाबाट समेत वञ्चित हुने देखिएको छ । 

राष्ट्रिय प्रशारण लाइनको बिजुली सञ्चालनमा आएपछि लघु जलविद्युत् आयोजना ठप्प हुन्छ भनेर पहिले नै अनुमान लगाइएको थियो । सरकारले ती जलविद्युत् आयोजनाका बिजुली ग्रीड कनेक्सनमार्फत वितरण गर्ने र बढी भएको खरिद गर्ने आश्वासन दिएको थियो । प्राधिकरणले २०७२ सालमा नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालित २३ किलोवाट क्षमताको स्याउरेभूमि लघु जलविद्युत् आयोजनासँग सम्झौता गरेको थियो । उक्त जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जडान भएर सञ्चालनमा छ । ग्रीड कनेक्सनका विषयमा अहिले पनि कति उत्पादकलाई जानकारी नै नभएको स्याउरेभूमि आयोजनाका अध्यक्ष सुदर्शन बुढाथोकीले बताए । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेको पालामा यसको अध्ययनका लागि कमिटीसमेत गठन भएको थियो । 

उनले ‘पाइलट प्रोजेक्ट’ को रूपमा ग्रीड कनेक्सनका लागि टेक्निकल अध्ययन गर्ने जिम्मा हितेन्द्रदेव शाक्यलाई दिएका थिए । त्यो कमिटीले नयाँ टेक्नोलोजीअनुसार अघि बढ्नुपर्ने निश्कर्ष निकालेको थियो । पछि आफैं कार्यकारी निर्देशक भएका शाक्यले जलविद्युत् आयोजनासँग जिल्ला–जिल्लामै विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय लिए । 

तर, उक्त निर्णय अलपत्र परेको छ । उपकरण महँगो भएको भन्दै प्राधिकरणले फेरि अध्ययन शुरु गरेको छ । प्राधिकरणले समस्या समाधानका साटो उत्पादकलाई अल्मलाउने काम मात्र गरिरहेको अध्यक्ष बुढाथोकीको आरोप छ । 

‘गाउँगाउँमा बिजुली नपुगुञ्जेल सरकारले योगदान सम्झियो । अहिले हामीलाई विस्थापित गराउन लागिपरेको छ । हामीले बिजुलीको प्रशारण लाइनमा ग्रीड कनेक्सन गरिदिन मात्र भनेका हौं । सरकारलाई पनि फाइदा हुने, जलविद्युत् उत्पादकहरूको रोजीरोटी पनि नखोसिने गरी अघि बढ्नुपर्‍यो भन्ने हाम्रो माग हो’, उनले भने । लघु जलविद्युत्लाई ग्रीड कनेक्सनमार्फत विद्युत्को प्रशारण लाइनमा जोड्दा ‘सबस्टेशन’ लगिराख्नुपर्ने झण्झटको अन्त्य हुने उनको जिकिर छ । 

अघोषित लोडसेडिङ बढ्दै, लघु जलविद्युत् आयोजना बन्द गरिँदै 

बर्खायाम भए पनि मुलुकभर झ्याप्प–झ्याप्प बत्ती गइराखेको छ । आपूर्ति बढी हुनुपर्ने समयमा बिजुली जाने समस्या खेप्नुपरेको छ । अघोषित रूपमा बत्ती जान थालेपछि उद्योगीहरू वाक्कदिक्क भएका छन् । यता, संघसंस्था पनि अप्ठ्यारोमा परेका छन् । जलस्रोतको धनी देश भनिएपनि चाहिनेजति बिजुली उत्पादन गर्न सरकार असमर्थ छ । 

बैतडी, तेह्रथुम, सिन्धुली, पर्वतलगायत विभिन्न जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाहरू धमाधम बन्द भइरहेको छ । 
 

टिप्पणीहरू