बालगृहलाई हिमालयन एयरलाइन्सको आर्थिक सहयोग

बालगृहलाई हिमालयन एयरलाइन्सको आर्थिक सहयोग
सुन्नुहोस्

हिमालय एयरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अघि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।

अनाथ तथा विपन्न बालबालिकाको लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लवप्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको एअरलाइन्सले जनाएको छ । 
बालगृह परिसरमा हिजो आयोजित कार्यक्रममा एयरलाइन्सका अध्यक्ष चौ इन्योङ्गले बालगृहकी अध्यक्ष उषा कार्कीलाई सहयोगस्वरुप तीन लाख ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

यसबाहेक बालगृहको भान्सामा प्रयोग हुने सामानको सेट र स्केचका साथै क्रिकेट सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बलजस्ता विभिन्न खेलकुदका सामग्री पनि सहयोग गरिएको कम्पनीले जनाएको छ । 

काठमाडौंको सुन्दरीजलमा रहेको लवप्रसाद बालगृहले हाल १३ जना बालबालिकाको शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । एयरलाइन्सको उक्त सहयोग बालबालिकाको निम्ति व्यवस्थित बालगृह भवनको भान्सा र भोजन कक्षको मर्मतसम्भारमा प्रयोग गरिने बालगृहकी अध्यक्ष उषा कार्की बताउँछिन् । 

उनले भनिन्, ‘हाम्रो संस्थामा गर्नुभएको योगदानका लागि हामी हिमालयन एयरलाइन्सप्रति आभारी छौं । उहाँहरुको उदार सहयोगले हाम्रो रेखदेखमा रहेको बालबालिकाको जीवनमा उल्लेख्नीय सुधार ल्याउने छ ।’

टिप्पणीहरू