राज्यकोषबाट ७२ जनालाई पौने ३ करोड, राष्ट्रपतिलाई ५५ लाख
सरकारले आर्थिक सहायता शीर्षकमा गत जेठ र असार महिनामा मात्रै दुई करोड ७५ लाख बढी खर्च गरेको छ । जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरण जनआस्थालाई प्राप्त भएको छ ।
पछिल्लो दुई महिनामा सबैभन्दा धेरै राष्ट्रपति रामचन्द्र पौडेललाई ५५ लाख दुई हजार २७९ र सबैभन्दा कम गुरुमा धम्मावती शाक्य, धर्मकीर्ति बिहार, काठमाडौंलाई ६५ हजार ६७२ रुपैयाँ प्रदान गरिएको छ । दिल्लीको उपचार खर्च आफै ब्यहोरेको भनी बिज्ञपति निकाल्ने राष्ट्रपतिलाई ‘मन्त्रिपरिषद्को २०८० असार १२ गतेको निर्णयानुसार स्वास्थ्य उपचारको क्रममा भारत जाँदाको खर्च भुक्तानी दिइएको हो ।
जेठ र असार महिनामा कूल २ करोड ७५ लाख बढी रकम राज्यकोषबाट उपचार खर्चको नाममा दिइएको छ । त्यसमध्ये धेरैजसोलाई एक लाख, दुई लाख र तीन लाख रुपैयाँ थमाइएको छ । अधिकांश नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा र त्यसमा पनि उहाँको जन्मथलो गन्यापधुराका सहित केही चितवनका पनि छन् ।
प्राप्त विवरणअनुसार जेठमा आठ जनालाई ३५ लाख र असारमा ६२ जनालाई साढे २ करोड रुपैयाँ आर्थिक सहायताबापत दिइएको छ । ७० जनामध्ये पूर्व परराष्ट्र सचिव हिराबहादुर थापालाई सात लाख,धनुषाका रामचन्द्र झालाई पाँच लाख,चितवन मंगलपुुर ५ की दिलकुमारी रावल थापा (पार्वती) लाई तीन लाख,डडेलधुरा गन्यापधुरा ४ का लोकबहादुर धानुकलाई दुई लाख प्रदान गरिएको छ ।
टिप्पणीहरू